Mero Chitwan
मक्कामा अत्यधिक गर्मीका कारण १ हजारभन्दा बढीको मृत्यु, मृत्यु हुनेमा एक जना नेपाली पनि

काठमाडौं–साउदी अरबको मक्कामा हजयात्राका लागि गएका १ हजारभन्दा बढी तीर्थयात्रीको अत्यधिक गर्मीका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेकी ६० वर्षीया सायर बानो सैयद पनि रहेको जेद्दाहस्थित कार्यवाहक महावाणिज्यदूत शत्रुधन पोखरेलले जनाएका छन् ।

समाचार समिति एएफपीका अनुसार १ हजार ८१ तीर्थयात्रीको गर्मीका कारण मृत्यु भएको छ । मक्कामा अहिले ५१ दशमलब ८ डिग्री तापक्रम पुगेको छ ।  हिट स्ट्रोक तथा गर्मीजन्य अन्य कारणले धेरै तीर्थयात्रीले ज्यान गुमाउनुपरेको रोयटर्सले जनाएको छ । चरम गर्मी, शारीरिक थकान, ठूलो जमघटलगायत कारण हजयात्रामा जोखिम थपेको जनाइएको छ ।

केही तीर्थयात्री अझै बेपत्ता रहेको र केहीको उपचार भइरहेकाले मृतकको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजिप्टले हजयात्रामा गएका आफ्ना ३ सय ७ नागरिकको मृत्यु भएको र ११८ जना हराइरहेको जनाएको छ । यस्तै ६८ जना भारतीय, १६५ जना इन्डोनेसियाली, जोर्डनका ४१, ट्युनिसियाका ३५ र इरानका ११ नागरिकले हजका क्रममा ज्यान गुमाएका छन् ।

साउदी अधिकारीहरुले पर्याप्त पानी पिउन, छाता ओढ्न तथा दिउँसोको समयमा बाहिर ननिस्कन हजयात्रीहरुलाई सचेत गराएका छन् । हजयात्रीलाई आवश्यक सहयोग गर्न ठूलो संख्यामा चिकित्सकीय टोली र स्वयंसेवक खटाइएको हज अधिकारीहरुले बताएका छन् । गर्मी छल्न कुलिङ सेन्टर, हाइड्रेसन प्वाइन्ट, पानीको फोहरालगायतको व्यवस्था गरिएको जनाइएको छ ।

यस वर्षको हजयात्राका लागि विश्वभरका १८ लाखभन्दा बढी इस्लाम धर्मावलम्बी मक्का पुगेको साउदीका अधिकारीहरुले जनाएका छन् । नेपालबाट पनि बर्सेनि सयौं मानिस हजयात्रामा जाने गर्छन् । 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  २२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update