चितवन : चितवनका यातायात व्यवसायीले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा सार्वजनिक यातायातमा ४० प्रतिशत भाडा छुटको घोषणा गरेका छन्। भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा भरतपुर रिङरोडमा चल्ने यातायातमा भाडा छुटको घोषणा गरिएको हो।
चितवन छहारी यातायात सेवा प्रालि, त्रिनेत्र यातायात सेवा प्रालि र ओम शान्ति यातायात सेवा प्रालिले भाडामा छुटको व्यवस्था गर्ने भएका हुन्। यी संस्थाका १५० वटा गाडी हरेक दिन पूर्वी चितवनबाट भरतपुरसम्म चल्छन्।
बुधबार आयोजित पत्रकार सम्मेलनमा चितवन छाहारी यातायात सेवा प्रालिका अध्यक्ष वद्रिप्रसाद पौडेलले भ्रमण वर्षको प्रवर्द्धन गर्ने उद्देश्यले भाडामा छुटको व्यवस्था गरेको बताए। ६८ वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई भाडा निःशुल्क गरिने उनले बताए।
भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले रिंङरोड क्षेत्रमा सार्वजनिक यातायातमा भाडा छुट सुरुआत भएको बताइन्।भ्रमण वर्षमा निजी क्षेत्रसँग मिलेर छुटका प्याकेजहरु घोषणा भइरहेको बताइन्।
‘होटल, यातायात, व्यापार, व्यवसायमा छुटको व्यवस्था मिलाउन हामीले सुरुबाटै प्रयास गरिरहेका हौं। केहीमा अझै प्रयास भइरहेको छ,’ उनले भनिन्, ‘स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा भ्रमण वर्ष सफल बनाउने हो।’ उनले भ्रमण वर्षले समग्र जिल्लाकै व्यवसायमा चहलपहल बढेको बताइन्।
उपमेयर चित्रसेन अधिकारीले महानगरभित्र चल्ने सबै सार्वजनिक यातायातमा भाडा छुट गर्न प्रयास भइरहेको बताए।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले यातायातमा गरिएको भाडा छुटको सकारात्मक प्रभाव पर्यटनमा पर्ने विश्वास व्यक्त गरे।