Mero Chitwan
कालिकाले ल्यायो ८८ करोडको बजेट, चेपाङ तथा विपन्न समुदायको शिक्षा मुख्य प्राथमिकतामा

चितवन-चेपाङ बालबालिका तथा विपन्न समुदायलाई नि:शुल्क  शिक्षा, खेलकुदको विकास र कृषि उत्पादनमा जोड दिँदै चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । बुधबार नगर सभामार्फत् नगरपालिकाले ८७ करोड ७८ लाख ८१ हजारको बजेट सार्वजनिक गरेको हो । 

नगर प्रमुख विनोद रेग्मीले आगामी वर्षको नीति तथा कार्यक्रम र उप प्रमुख विमला तामाङले बजेट प्रस्तुत गरेका हुन् । 

कुल बजेटमा आन्तरिक आयतर्फ ६ करोड, राजश्व बाँडफाँडबाट १८ करोड २४ लाख ३१ हजार, जनसहभागिताबाट १ करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरण संघीय सरकार तर्फबाट ४५ करोड १५ लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरण बागमती प्रदेश सरकार तर्फबाट ७ करोड ३९ लाख ५० हजार, सडक वोर्डबाट ५० लाख, जिल्ला समन्वय समितिबाट ५० लाख, मालपोत रजिष्ट्रेशन र नदी जन्यवाट ६ करोड र गत वर्षको जिम्मेवारी सर्ने ३ करोड आम्दानी गर्ने लक्ष्य रहेको छ ।

नगरले चेपाङ बालवालिकालाई विद्यालयमा टिकाउन 'मेयरसंग केयर' कार्यक्रम ल्याएको छ । आर्थिक तथा सामाजिक रुपले पछाडि परेका बालवालिकालाई विद्यालयमा ल्याउन, टिकाउन, सिकाउन र विकाउन मेयर केयर कार्यक्रम ल्याइएको मेयर रेग्मीले बताए । यो कार्यक्रम अन्तर्गत छात्राबृति, शैक्षिक सामग्री, पोसाक सहित दिवा खाजा कार्यक्रमलाई प्रभावकारी र आवासीय विद्यालय सचालन गरिने उनले जानकारी दिए । शिक्षाको विकासका लागि किताबविहीन दिन तथा शिक्षालाई प्रविधिसंग जोडेर सीपशाला संचालन गरिने जनाइएको छ ।

खेलकुदको विकासका लागि एक वडा एक खेलमैदान, खुल्ला व्यामशाला, नगर स्तरीय आधुनिक पुस्तकाल तथा स्वास्थ्यतर्फ बृद्धबृद्धाको घरघरमै स्वास्थ्य परीक्षण, नगरभित्रका विपन्न समुदायको निःशुल्क स्वास्थ्य विमा, पोषणमैत्री पालिका घोषण, २०८३ सम्म बालमैत्री नगर घोषणा, उपमेयरसंग बालवालिका कार्यक्रम सार्वजनिक गरिएको छ ।

कृषि र पशुपालनको विकासको गरी उत्पादन बढाउन अधिकतम अनुदान, कार्यालयदेखि खेलसम्म प्रविधिको प्रयोग, रैथाने बालीको संरक्षण, कालिकाको सान विषादी मुक्त खानपान, नगर कृषक सम्मान, खाद्य सुरक्षाको लागि मिठो मसिनो खाउ, खाना नफालौ भन्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । नगरपालिकाले आगामी आर्थिक बर्षमा २५० जनालाई रोजगारी, कोसेली घर निर्माण, पर्यटन विकास मार्फत स्थानीयको आयआर्जन र चेपाङ बस्तीमा फलफुल खेतीलाई जोड दिएको छ ।

 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  २२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update