काठमाडौं- ललितपुरको बालकुमारीमा भएको घटनाको सरकार र मृतकका आफन्तबीच चारबुँदे सहमति भएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच भएको वार्तामा मृतकका परिवारका १/१ जनालाई उपयुक्त रोजगारी यथाशीघ्र दिलाउन सरकार सहमत भएको छ । परिवारका सदस्यहरूसँगको सल्लाहमा यस्तो रोजगारी दिने सहमतिपत्रमा उल्लेख छ ।
सरकारले उपलब्ध गराउने १० लाख रुपैयाँको राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन यथाशीघ्र आवश्यक सहजीकरण गर्ने सहमति पनि भएको छ ।
यस्तै मृतक वीरेन्द्र शाह र सुजन रावतलाई सहिद घोषणाका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।
मृतकका परिवारले सोमबार नै शव बुझ्ने र शवलाई सम्बन्धित जिल्लामा पुर्याउने प्रबन्ध गृह मन्त्रालयले गर्ने पनि सहमति भएको छ ।
सहमतिपत्रमा सम्बन्धित जिल्लाका निर्वाचन क्षेत्रमा सांसदहरुको रोहबरमा सरकारको तर्फबाट गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी र मृतकको परिवारका तर्फबाट वीरेन्द्र शाहका बुबा टेकबहादुर शाह, सुजनका मामा टेकबहादुर कटुवालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको पुस १३ गते भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।