Mero Chitwan
वैज्ञानिकहरूले विकास गरे मासुमा पाइने प्रोटिनयुक्त चामल 

एजेन्सी-दक्षिण कोरियाको राजधानी सियोलका वैज्ञानिकहरूले खानामा हुने प्रोटिनको कमीलाई पूर्ति गर्न विशेष खालको प्रोटिनयुक्त चामलको विकास गरेका छन् । यस्तो चामलमा मासुमा पाइने प्रोटिन समावेश भएको बताइएको छ । 

चामलमा कार्बोहाइड्रेट प्रशस्त हुन्छ । शरीरलाई कार्बोहाइड्रेटबाट ऊर्जा प्राप्त हुन्छ। विश्वका १०० भन्दा बढी देशहरूमा चामल मुख्य खाद्य हो। तर, यसमा प्रोटिनको मात्रा निकै कम हुन्छ । १ सय ग्राम सेतो भातमा मात्र २ दशमलब ९ ग्राम प्रोटिन हुन्छ। तर यो हाइब्रिड चामलमा ८ प्रतिशतसम्म बढी प्रोटिन हुने बताइएको छ । 

कोरियाका वैज्ञानिकहरूले विकास गरेको चामलमा मासुको कल्चर गरिएको कोशिकाहरू चामलको दानामा इन्जेक्सन गरिन्छ र यो प्रकियाका लागि जनावरलाई मार्नु पर्दैन।

यसले मानिसको खाने तरिकामा ठूलो परिवर्तन ल्याउने आशा दक्षिण कोरियाका वैज्ञानिकहरूले गरेका छन्। गाईवस्तुपालनबाट उत्पादित मासुभन्दा कम कार्बन उत्सर्जन गरेर तयार पारिने भएकाले याे चामल प्रकृति र वातावरणका लागि राम्रो विकल्प हुन सक्ने बताइएको छ । 

अनुसन्धानमा संलग्न वैज्ञानिकहरूको टोलीका प्रमुख प्रोफेसर होङ जिन-कीले यो चामललाई ‘मीटी राइस’ नाम दिएका छन्। यसमा सामान्य चामलको तुलनामा ८ प्रतिशत प्रोटिन र ७ प्रतिशत चिल्लो हुन्छ । यो चामल मानिसलाई पर्याप्त प्रोटिन उपलब्ध गराउन वातावरणमैत्री विकल्प बन्न सक्ने हङको विश्वास छ । 

यो चामलको रंग गुलाबी हुन्छ। मासुमा मांसपेशी र फ्याट कोशिकाहरू प्रशस्त हुने भएकाले यसमा विशेष प्रकारको सुगन्ध पनि हुन्छ। प्रोफेसर होङले समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा भने, ‘कल्चर गरिएको मासु प्रयोग गरेर हामीले जनावरलाई नमारीकन जनावरको प्रोटिन प्राप्त गर्न सक्छौँ। हङले धेरै एसियाली देशहरूमा मानिसहरूका लागि प्रोटिनको मुख्य स्रोत अन्न भएको बताए । यही कुरालाई ध्यानमा राखेर यो प्रयोगका लागि चामल मात्र छनोट गरिएको थियो ।  

सिमी, अण्डा, पनीर र दालमा पनि प्रोटिन हुन्छ, तर मासुमा बढी प्रोटिन हुन्छ। एक सय ग्राम कुखुराको छातीमा लगभग ३१ ग्राम प्रोटिन हुन्छ। 

प्रयोगशालामा उत्पादन भएको मासु उद्योग बढ्दै गएको छ। ग्लोबल कन्सल्टेन्सी एटी कार्नीले २०१९ को रिपोर्टमा २०४० सम्ममा विश्वव्यापी मासु खपतको ४० प्रतिशत मात्र परम्परागत स्रोतबाट आउने अनुमान गरेको छ। प्रतिवेदनका अनुसार दूध, अण्डा, जिलेटिन र माछा जस्ता उत्पादनहरू पनि कल्चर्ड मासु जस्तै प्रविधि प्रयोग गरेर बनाउन सकिन्छ। 

 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  २२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update