चितवन-पूर्वी चितवनका तीन पालिकामा खेतीयोग्य जमिनको माटोमा अम्लियपना बढी र खाद्यतत्व कम भएको पाइएको छ । जिल्लामा रहेको धान जोनमा उत्पादनमा वृद्धि हुन नसकेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले माटो परीक्षण गरेको थियो । रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाको माटो परीक्षण गरिएको थियो ।
गत मङ्सिर २७ गतेदेखि तीन दिन लगाएर यस क्षेत्रका एक हजार ५० ठाउँको माटोको नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । परियोजनाका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार माटोको नमूना परीक्षणका क्रममा माटोमा नाइट्रोजन, फसफोरस र पोटासको कमी भएको पाइएको छ भने अधिकांशमा अम्लियपना भएको पाइएको छ । खाद्यतत्व कमी भएको माटोमा रासायनिक मलको मात्रा घटाउन सिफारिस गरिएको उनले बताए।
अम्लियपनाको आधारमा चुन र प्राङ्गारिक पदार्थको कमी भएको आधारमा प्राङ्गारिक मलको मात्रा बढाउन सिफारिस गरिएको छ । उनका अनुसार धान जोनअन्तर्गत आठ हजार पाँच सय ४० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यहाँ उत्पादन र उत्पादकत्वमा वृद्धि नभए पछि माटो परीक्षण गरिएको हो ।
गत वर्ष सो क्षेत्रफलमा ३९ हजार आठ सय ८२ मेट्रिकटन धान उत्पादन भएको थियो । यो प्रतिहेक्टर ५ दशमलब २ मेट्रिकटन उत्पादकत्व हो । यस वर्ष पनि सोही अनुपातमा धान उत्पादन भएपछि माटो परीक्षण गरिएको उहाँले बताउनुभयो ।
जोनमा लगाइएको धानमा नेक व्लाष्ट (घाँटी मरुवा), सित व्लाइट, कालोपोके, गवारो जस्ता समस्या देखापरेको थियो । जिल्लामा धान जोन सुरु भएको चार वर्ष भएको छ । अन्य दुई वर्षमा उत्पादन र उत्पादकत्व वृद्धि राम्रो भए पनि यस वर्ष हुन नसकेको उहाँको भनाइ छ । धान जोनका रुपमा पूर्वी चितवनको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका बिशेष रहेका छन् । ती पालिकाको राजमार्गभन्दा दक्षिण क्षेत्रको माटो परीक्षण गरिएको हो ।