Mero Chitwan
रोकिराखेको यात्रुबाहक रेलमा  मालबाहक रेल ठोक्किँदा १३ जनाको मृत्यु, ४१ घाइते

काठमाडौं : पश्चिम बंगालको जलपाइगुडीमा आज बिहान रोकिराखेको यात्रुबाहक रेललाई मालवाहक रेलले ठक्कर दिँदा १३ जनाको मृत्यु भएको छ । आज बिहान करिब ९ बजे पश्चिम बंगालको रंगापानी र नयाँ जलपाइगुडी स्टेसनको बीचमा दुई वटा रेल आपसमा ठोक्किएका हुन् ।

अगरतलाबाट सियालदह जाने क्रममा रोकिइराखेको कंचनजंघा एक्सप्रेसको यात्रुवाहक रेलमा मालवाहक रेल ठक्कर खाएको अधिकारीहरुले जनाएका छन् । घटनामा करिब ४१ जना घाइते भएका छन् । उद्धार जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

घाइतेहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ । मालबाहक रेलले ठक्कर दिएपछि कंचनजंघा एक्सप्रेसका तीन वटा डब्बा ट्रयाकबाहिर गएका थिए । राज्यका रेलमन्त्री अश्विनी वैश्नवले घटनास्थलमा आपतकालीन सेवा विभागका कर्मचारीलाई खटाइएको जनाएका छन् । त्यस्तै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले उक्त घटनाप्रति दु:ख व्यक्त गरेकी छिन् ।

 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update