Mero Chitwan
टी-२० विश्वकप : अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित

काठमाडौँ-टी–२० विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ । १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो ।

जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ । नेपालको इनिङ्समाथि चुनौती दिने क्रममा बंगलादेशका तान्जिम हसन साकिबले ४ विकेट लिए । ४ ओभरमा २ मेडेन राख्दै उनले ७ रन मात्र खर्चिए । उनी प्लेयर अफ द म्याच चुनिए ।

त्यस्तै मुस्तफिजुर रहमानले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । साकिब अल हसनले २ विकेट लिए ।

नेपालका लागि कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए । उनले चार चौका प्रहार गरे । 

किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ६ रन बनाएको थियो । 

नेपाली टोलीका बलर सोमपाल कामी, सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका प्रभावशाली लेग–स्पिनर सन्दीपले एक सय विकेटको कोशेढुंगा पनि पुरा गरेका छन् । 

बंगलादेशका लागि सकिब अल हसनले सर्वाधिक १७ रन बनाए । महमुदुल्लाह र रिसाद होसैनले १३–१३ रन बटुले । नेपाली बलरको दबाबमा परेका कुनै पनि बंगलादेशी ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । 

 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update