काठमाडौं–शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रालयभित्र कर्मचारीतन्त्रले राजनीतिक नेतृत्वसँग प्रतिरोध गर्ने र गलाउने प्रवृत्ति रहेको खुलासा गरेकी छन् ।
आज कान्तिपुर दैनिकमार्फत् आफ्नो सय दिनको समीक्षा गर्दै मन्त्री श्रेष्ठले मन्त्रीको निर्देशनलाई भाषा मिलाउने भनेर झुलाउने, आफूअनुकूल परिवर्तन गर्ने र कति दिन टिक्छ र भनेर टारिदिने प्रवृत्ति रहेको जनाएकी हुन्।
‘प्रविधिको उपयोग र पारदर्शिता बढाउन खोज्दा केटाकेटी पारा भनेर टार्न खोजियो,’ उनले भनेकी छन् ।
युवा पुस्ताको महिलामन्त्री भएकाले आफूलाई कर्मचारीतन्त्रमा विश्वासको जग बसाल्न समय लागेको अनुभव पनि उनले साँटेकी छन् ।
मन्त्रालयमा कहिले कर्मचारी अभाव त,कहिले कानुनको बाध्यता कारण काममा ढिलासुस्ती हुने गरेको र कतै स्रोत परिचालनमा तथा कतै कार्यक्षमता अभाव रहेको उनको भनाइ छ ।
बजेट खर्च नभई प्रभावकारी कार्यान्वयन हुन नसक्नुको कारणमा राजनीतिक अस्थिरता, कर्मचारीको ठप्प भएको वृत्ति विकास र राम्रो काम गर्नेलाई प्रोत्साहनको व्यवस्था नहुनु रहेको उनले औंल्याएकी छन् ।
उनले कर्मचारीको कार्यक्षमता अभिवृद्धि गर्न पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा एकदेखि तीन महिने अवधिका छोटा कोर्स सञ्चालन गर्न लागेको पनि जनाएकी छन् ।
यस्तै, पहिले शिक्षा र मानव स्रोत तथा विकास केन्द्रले मात्र बनाउन गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका यस वर्षदेखि हरेक निकायले असार २५ भित्रै बनाइसक्ने र बजेट कार्यान्वयन साउन १ देखि नै सुरु हुने उनले जनाएकी छन् ।