Mero Chitwan
आईटी क्षेत्र उच्च प्राथमिकतामा छ : मन्त्री पुन

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि क्षेत्रमा नेपाललाई प्रतिस्पर्धी बनाउन सरकारले सबै खालको वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउनु भएको छ । राजधानीमा शनिबार आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पुनले आईटी क्षेत्रमा प्रतिस्पर्धाको आधार देखिएको भन्दै राज्यले उच्च प्राथमिकता दिने बताउनु भयो ।

आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको भन्दै मन्त्री पुनले भौगलिक वस्तुस्थिति र प्राविधिक जनशक्तिको विकासले नेपाल प्रतिस्पर्धीका रुपमा विकास हुँदै गइरहेको दाबी गर्नु भयो । 

‘सरकार यी सम्भावनालाई स्वीकार गर्दै नीतिगतदेखि सबैखालको वातावरण बनाउन तयार छ,’ मन्त्री पुनले भन्नुभयो, ‘बजेटले पनि आर्थिक सुधारको नीति अगाडि सारेको छ । नयाँ आविष्कार गर्ने वातावरण राज्यले बनाउनेछ । अवसरको समानता कायम गर्नेछ । नयाँ पुस्ताको अपेक्षालाई सम्बोधन गर्नेछ ।’

मन्त्री पुनले १० वर्षमा ३० खर्बको आईटी सेवा वा उत्पादन निर्यात गर्न सक्छौं भन्ने महत्त्वाकांक्षा राखेको बताउनु भयो । उहाँले भन्नु भयो, 'आईटी सेक्टरका मान्छेले महत्त्वाकांक्षी होइन भनेका छन् । राम्रो कानुनी र वातावरण दियो भने १० वर्ष लाग्दैन भन्ने छ ।' 

उहाँले ५ वर्षसम्म आईटीसम्बन्धी करका नीति परिवर्तन नगर्ने पनि दाबी गर्नु भयो । 'काठमाडौं र सातै प्रदेश राजधानीलाई आईटी हब बनाउँछौं भनेका छौं,' मन्त्री पुनले भन्नु भयो, 'काठमाडौंका १० ठाउँमा शुल्क नलिएर सेन्टरहरु सञ्चालन गर्छौं ।’

मन्त्री पुनले आर्टिफिसियल इन्टेलिजेन्सलाई मानव जीवनको सहयोगीका रुपमा उपयोग गर्नुपर्ने औंल्याउनु भयो । एआईको विकासले लाखौं रोजगारी गुम्ने कुरा अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएको भन्दै मन्त्री पुनले नयाँ प्रविधिलाई अनुशरण गरेर नयाँ रोजगारीहरु सिर्जना गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update