Mero Chitwan
स्वास्थ्यमन्त्रीले गरे चितवनका सरकारी अस्पतालको निरीक्षण, के-के आश्वासन दिए ?
स्वास्थ्यमन्त्री प्रदीप यादव शुक्रबार चितवनमा बीपी कोइराला क्यान्सर अस्पताल, भरतपुर अस्पताल र रत्ननगर अस्पताल अनुगमनका क्रममा ।

चितवन- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले चितवनका सरकारी अस्पतालको निरीक्षण गरेका छन्। उनले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर अस्पताल तथा रत्ननगर अस्पतालको अनुगमन गरेका हुन्। 

मन्त्री यादवले भरतपुर तथा क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामी, कुरुवासहित अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी, अन्य स्वास्थ्यकर्मी र अस्पताल सञ्चालक समितिका पदाधिकारीहरूसँग छलफल गरेका हुन्।  त्यसक्रममा आफूले अस्पतालमा उपकरण, जनशक्ति र बजेट अभावमा कारण समस्या आइरहेको पाएको उनले बताए । 

मन्त्री यादवले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई पूर्ण रूपले सबल बनाउनका निमित्त आवश्यक जनशक्ति थप्नेदेखि उपकरण खरिदका लागि बजेटको व्यवस्थापन गर्न आफू प्रतिबद्ध रहेको बताए। त्यस्तै औषधि अभावको समस्यालाई तत्कालै समाधान गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएको उनले जानकारी दिए। 

bp-1718384915.jpg
उनले भरतपुर अस्पतालमा नर्सिङ कक्षामा अध्ययनरत विद्यार्थीहरूले भोग्नुपरेको समस्याका बारेमा पनि जानकारी लिएका थिए । मन्त्री यादवे  अस्पतालको सेवा प्रवाहका क्रममा जनशक्ति र जग्गा अभावमा कारण आएका चुनौती सम्बोधन गर्न आफू कटिबद्ध रहेको बताउँदै यसै वर्षदेखि एमबीबीए, एमडीएमएसलगायत कक्षा सञ्चालन गर्न र तत्कालै हुनसक्ने कामको थालनी गर्न निर्देशन दिएका थिए । 

bharatpur-1718384952.jpg
यस्तै, मन्त्री यादवले रत्ननगर अस्पतालमा भवन निर्माणको लागि बजेट हाल्ने आश्वासन दिएका छन् । अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री यादवले स्थानीय सरकारले जग्गा उपलब्ध गराए अस्पतालको नयाँ भवन निर्माणको लागि बजेट पठाउने प्रतिबद्धता जनाए । उनले रत्ननगर अस्पतालको विकासको लागि रकमान्तर गरेर पूर्वाधार निर्माण र उपकरण खरिदका लागि बजेट हाल्ने वचन दिए । 

ratnanagar-1718384977.JPG
मन्त्री यादबले डाइलासिस, एक्सरे तथा डायलासिस मेसिन र मानसिक रोग विशेषज्ञ डाक्टर तत्काल व्यवस्थापन गर्ने प्रतिबद्धता  पनि जनाएका छन् । कार्यक्रममा चितवन १ का सांसद हरि ढकालले रत्ननगर अस्पतालको विकासका लागि सदनमा माग गर्दा सरकारले नसुनेपछि मन्त्री ल्याएर समस्या देखाएको बताए । रत्ननगरका मेयर प्रलाद सापकोटाले स्थानीय सरकारले तत्काल जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै बजेट विनियोजन गरेर अस्पतालको भवन निर्माणको प्रक्रिया अगाडि बढाउन आग्रह गरे ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  २२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update