Mero Chitwan
३ महिला मजदुरको मृत्युको घटनालाइ लिएर कावासोती नगरपालिकामा तोडफोड


चितवन : ३ महिला मजदुरको मृत्युको घटनालाइ लिएर पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा तोडफोड भएको छ ।

ढल निर्माणका क्रममा नाला पुरिएर बिहीबार ३ महिला मजदुरको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका प्रर्दशनकारीले तोडफोड गरेका हुन् ।

आन्दोलनमा उत्रिएका स्थानीयले निकै आक्रोशित हुदैं नगरपालिका बाहिर नाराबाजी गरेका थिए । उनिहरुले हानेका ढुंगा तथा इट्टाले  नगरपालिका भवनको पूर्वतर्फको झ्यालढोका फुटेका छन् ।

बिहीबार नाला पुरिएर भएको दुर्घटनामा कावासोती नगरपालिका ५ की सेती राना, तानमाया गाहा र चमेली सिंजालीको मृत्यु भएको थियो । मृतकहरुको शव मध्यबिन्दु अस्पतालमा राखिएको छ ।

कावासोती नगरपालिकाको शुक्रबार बसेको कार्यपालिकाको आकस्मिक बैठकले मृतक महिलाको शोकमा आज बिदा दिने निर्णय गरेको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता पनि नगरपालिकाले गरेको छ ।

नगरपालिकाले ढल निकासका लागि वैशाख ३० गते सम्झौता गरेर उपभोक्ता समितिमार्फत कावासोतीको थाना चोकदेखि पूर्वतर्फ ढल निकासको काम अगाडि बढाएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update