काठमाडौं-सांसदहरुले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएकोमा आपत्ति जनाएका छन् ।
सांसदहरुले गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको उक्त निर्णय तत्काल रोक्न माग गरेका हुन् । देशभरका जिल्ला प्रशासन कार्यालयमा पुग्न ज्येष्ठ नागरिक, बिरामी र अशक्त व्यक्तिहरुले खेपेको हैरानीप्रति सांसदहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
सांसद ऋषिकेश पोखरेलले पूर्वतयारी बिना नै आगामी वर्षका लागि सामाजिक सुरक्षा भत्ता लिन लाभग्राहीलाई विवरण नवीकरणको दुईवटा सर्त राखेर सर्कुलर पठाउँदा ज्येष्ठ नागरिक, अशक्त र बिरामीले पीडा खेप्नुपरेको बताए । भत्ता लिनका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्ने र साउन महिनाभित्र विवरण भरेर पठाइसक्नुपर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको सुर्कलरले समाजमा आतंक सिर्जना गरेको भन्दै तत्काल त्यसलाई रोक्न र आगामी वर्ष पूर्वतयारी गरेर मात्र प्रकृया अगाडि बढाउन माग गरे ।
‘परिचयपत्र नम्बर राख्नु राम्रो कुरा हो । तर, सरकारले पूर्वतयारी बेगर आज सामाजिक आतंक सिर्जना गरेको छ । बिरामी, अपांग र ज्येष्ठ नागरिकहरुले दुःख पाइरहनुभएको छ, यसलाई तत्काल रोकेर अर्को वर्ष हरेक घरमा बायोमेट्रिक गर्ने टोली पुग्ने वातावरण निर्माण गरेर मात्र पूर्व तयारीसहित प्रक्रिया अगाडी बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु’ सांसद पोखरेलले भने ।
सांसदहरुले राष्ट्रिय परिचय पत्र नम्बरकै लागि दुर्गमका नागरिकले निकै कष्टप्रद यात्रा गरेर जिल्ला प्रशासन कार्यालय पुगेपनि भीडका कारण काम समयमै नहुने, बिरामी र अशक्तलाई कष्ट भएको भन्दै सांसदहरुले त्यसप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद विद्या भट्टराईले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने प्रावधानका लागि तोकिएको साउन महिनालाई केही पर सार्न माग गरिन् । 'विवरण संकलनका लागि वडास्तरमा नै निश्चित समयमा घुम्ती शिविर सञ्चालन गर्न सक्नुपर्छ । यो समस्यालाई व्यवस्थित गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराउँछु,’ उनले भनिन् ।