Mero Chitwan
चितवनका कुन-कुन पालिकाले दिएका छन् विद्यालयमा गर्मी बिदा ?

चितवन-अत्यधिक गर्मीका कारण बालबालिकाको पठनपाठनमा प्रत्यक्ष असर गर्ने देखिएपछि चितवनका अधिकांश पालिकाले विद्यालयमा गर्मी बिदा दिएका छन् ।

भरतपुर, रत्ननगर, कालिका, खैरहनी तथा माडी नगरपालिकाले गर्मी बिदा दिएका हुन् । भरतपुर महानगरपालिकाले सबै विद्यालयमा यही जेठ २९ गतेदेखि ३२ गतेसम्म गर्मी बिदा दिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिए । उनले बिदाको अवधिमा आफ्ना बालबालिकालाई दिउँसो घाममा हिँड्डूल गर्न नदिन र नदी–पोखरीमा पौडी खेल्ने माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन र सावधानी अपनाउन अभिभावकलाई आग्रह गरेका छन् । 

त्यसैगरी कालिका नगरपालिका र रत्ननगर नगरपालिकाले पनि मङ्गलबार र बुधबार दुई दिन बिदा दिएका छन् । कालिका नगरपालिकाका शिक्षा निर्देशक गङ्गाधर रिमालले बर्खे बिदा कट्टी हुने गरी पालिकाका सबै विद्यालयमा बिदा गरिएको बताए । 

रत्ननगरका नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले बढ्दो गर्मीका कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने देखिएकाले दुई दिन बिदा दिएको जानकारी दिए । 
 
त्यसैगरी खैरहनी नगरपालिकाले भने सोमबारबाट नै दुई दिन बिदा दिएको छ । पालिकाका नगर शिक्षा अधिकारी राजु बानियाँले यस्तै गर्मी रहेमा केही दिन बिदा थप गर्न सकिने बताए । प्ती नगरपालिकामा भने भौगोलिक स्थानको आधारमा गर्मी बिदा दिएको छ । पालिकाकी शिक्षा अधिकृत रविना देउजाले  पालिकाभित्र २ प्रकारका भूभाग रहेकाले सोही अनुरुप बिदा दिने गरिएकोे बताइन् । पहाडी इलाकामा खासै गर्मी बिदाको आवश्यक हुँदैन भने तराई भेगमा गत हप्ता पनि बिदा दिइएको थियो । 
         
माडी नगरपालिकाकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुनिता खतिवडाले माडीमा गत सातादेखि नै बिहानी कक्षा सञ्चालन गर्दै आएको बताइन् । उनले बालबालिकालाई गर्मी भयो भन्ने अभिभावकको गुनासो आएसँगै बिहानी कक्षा सञ्चालन गर्ने निर्णय गरिएको र हाल माडीमा पठनपाठन नियमित सञ्चालन हुँदै आएको बताइन् । 
  
चितवनको अधिकांश पहाडी क्षेत्रमा पर्ने एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा भने गर्मीको खासै असर देखिएको छैन । पालिकाका अध्यक्ष दानबहादुर गुरुङले इच्छाकामनामा गर्मी बिदाको कुनै निर्णय नभएको बताए ।  पहाडी क्षेत्रमा गर्मीको असर कम हुने हुँदा बिदा नै गरेर पठनपाठन बन्द गर्नु नपर्ने उनकाे भनाइ छ  । 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  २२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update