Mero Chitwan
किन धमाधम पक्राउ परिरहेका छन् रुसमा वैज्ञानिकहरु ?
देशद्रोहको अभियोग लगाइएका वैज्ञानिक अनातोली मास्लोभ । उनलाई १४ वर्षको जेल सजाय सुनाइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बारम्बार भन्ने गर्छन्-रुसले हाइपरसोनिक हतियारहरूको  विकासमा विश्वको नेतृत्व गरिरहेको छ।तर यसविपरीत वैज्ञानिकहरुलाई देशद्रोहको आरोपमा जेल हाल्ने क्रमलाई तिब्रता दिइरहेका छन्। 

पक्राउ परेका अधिकांश वैज्ञानिक वृद्ध उमेरका छन् । तीमध्ये तीन जनाको मृत्यु पनि भइसेको छ । 

पक्राउ पर्नेमा ६८ वर्षीय भ्लादिस्लाव गाल्किन छन् । दक्षिणी रुसको टम्स्कमा रहेको उनको घरमा सन् २०२३ को अप्रिलमा छापा मारिएको थियो। गाल्किनका आफन्तहरुका अनुसार कालो मास्क लगाएका हतियारधारीहरू बिहान ४ बजे आइपुगे र दराज खानतलासी गर्न थाले।

तिनीहरूले विज्ञानका केही सामग्री जफत गरे।

२०१५ यता १२ भौतिकशास्त्रीहरू पक्राउ परिसकेका छन्। यी सबै वैज्ञानिकहरू कुनै न कुनै रूपमा हाइपरसोनिक प्रविधि वा यसमा काम गर्ने संस्थाहरूसँग जोडिएका थिए। उनीहरु सबैलाई रुसका गोप्य कागजात अन्य देशमा पठाएर देशद्रोह गरेको आरोप लगाइएको छ। 

रुसी राजद्रोहको मुद्दाको सुनुवाई गोप्य रुपम हुने गर्छ । तर पक्राउ परिएकाहरुलाई खासमा के आरोप लगाइन्छ, थाहा हुँदैन । 

रुसले भने उनीहरुमाथि निकै गम्भीर आरोप रहेको बताउने गरेको छ । यो विषय विशेष सेवासँग सम्बन्धित भएकाले सुरक्षा अधिकारीहरु यसबारे केही कुरा गर्दैनन् । तर पक्राउ परेका वैज्ञानिकका परिवारले  हतियार बनाउनमा संलग्न नभएको बताउने गरेका छन्। 

रुसले युक्रेन युद्धमा दुई प्रकारका हाइपरसोनिक मिसाइल प्रयोग गरेको बताएको छ । पहिलो किञ्जल मिसाइल हो, जसलाई विमानबाट प्रक्षेपण गरिन्छ र दोस्रो जिरकोन क्रुज मिसाइल हो।

अनुसन्धानका लागि बैज्ञानिक जेल जानु पर्यो ?

गाल्किनको गिरफ्तारीकै दिन अर्का वैज्ञानिक भ्यालेरी ज्वेगिन्त्सेभलाई पनि अदालतमा पेश गरियो। रुसको सरकारी एजेन्सी ‘तास’ ले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार इरानी जर्नलमा प्रकाशित एउटा लेखका कारण २०२१ मा भ्यालेरीलाई पक्राउ गरिएको थियो।

उक्त लेखमा उच्च गतिको विमानले हावाको  कसरी सामना गर्छ भनेर उल्लेख गरिएको थियो। २०२२ मा एफएसबीले  'एरोडायनामिक्स' विषयमा काम गर्ने एउटै संस्थानका दुई वैज्ञानिकहरूलाई गिरफ्तार गर्‍यो। 

गाल्किन अप्रिल २०२३ देखि हिरासतमा छन्। यस्तै भ्लादिमिर लापिगिनलाई पनि २०१६ मा पक्राउ गरिएको थियो। तर चार वर्षपछि उनी रिहा भएका थिए । उनले रुसी अन्तरिक्ष एजेन्सीको मुख्य अनुसन्धान संस्थान मेसिन बिल्डिङको केन्द्रीय अनुसन्धान संस्थानमा ४६ वर्ष काम गरे। लापिगिनलाई एरोडायनामिक्स गणनाका लागि डिजाइन गरिएको सफ्टवेयर प्याकेज चिनियाँ सम्पर्कमा पठाएको अभियोग लगाइएको थियो। उनले पूर्ण प्याकेज बेच्न संस्थानको तर्फबाट डेमो संस्करण पठाएको बताए ।

ल्यापिगिन भन्छन्-त्यसमा कुनै गोप्य जानकारी थिएन। त्यहाँ एउटा मात्र उदाहरण थियो जुन खुला प्रकाशनहरूमा धेरै पटक रिपोर्ट गरिएको थियो। ल्यापिगिन सन् २०१६ मा जेल परेका थिए तर चार वर्षपछि तारेखमा रिहा भएका थिए । उनले बीबीसीलाई भने- हाइपरसोनिकसम्बन्धी मुद्दामा पक्राउ परेकाहरु सबैको हतियार बनाउनसँग कुनै सरोकार छैन।

पक्राउ परेका अर्का वैज्ञानिक दिमित्री कोल्कर थिए। उनी साइबेरियाको इन्स्टिच्युट अफ लेजर फिजिक्सका विशेषज्ञ थिए । उनी २०२२ मा पक्राउ परेका थिए । त्यतिबेला उनी प्यान्क्रियाटिक क्यान्सरका कारण अस्पतालमा भर्ना भएका थिए । उनी विरुद्धको आरोप उनले चीनमा दिएको व्याख्यानमा आधारित थियो ।  तर पक्राउ परेको दुई दिनपछि ५४ वर्षको उमेरमा उनको निधन भएको थियो ।

यही कारण वैज्ञानिकहरू अन्तर्राष्ट्रिय जर्नलहरूमा लेख प्रकाशित गर्न र विदेशी सहकर्मीहरूसँग सहकार्य गर्न डराउन थालेका छन् । आइटीएएमका वैज्ञानिकहरूले पनि त्यस्तै महसुस गर्छन्। उनीहरुले आफ्नो पत्रमा भनेका छन्, ‘हामीले आफ्नो काम कसरी जारी राख्ने भन्ने बुझेका छैनौँ । आज जे पनि पुरस्कार पाइएको छ, भोलि फौजदारी अभियोगको कारण बन्न सक्छ ।'

गत वर्ष, दुइ वैज्ञानिकहरूलाई १२ वर्षको जेल सजाय सुनाइएको थियो, यद्यपि रसियाको सर्वोच्च अदालतले उनीहरूमध्ये एकको पुन: परीक्षणको आदेश दिएको छ। अन्य गिरफ्तारीहरू पृथ्वीको वायुमण्डलमा पुन: प्रवेश गर्दा अन्तरिक्ष यानको एरोडायनामिक्सको अध्ययनसँग सम्बन्धित छन्।

५७ वर्षीय अलेक्जेन्डर शिप्लुक सन् २०२२ मा पक्राउ परेका थिए। रुसमा प्रतिबन्ध लगाइएपछि सर्गेई डेभिडिसको संगठन लिथुआनियामा सरेको थियो । लिथुआनियाबाट उनले भने-एफएसबीले काम गरिरहेको देखाउन नक्कली मुद्दाहरूको संख्या बढाउँदैछ। तर वैज्ञानिकहरुलाई पक्राउ गर्नुमा  हाइपरसोनिक प्रविधिमा संलग्न वैज्ञानिकहरूसँग असन्तुष्टि एक कारण हुन सक्छ।

 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update