Mero Chitwan
२०८४ सम्म नेपाली काँग्रेस सरकार बनाउन र गिराउन लाग्दैनः महामन्त्री थापा

काठमाडौंः नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली काँग्रेस संघीय संसदभित्र प्रतिपक्षको भुमिकामा रहने दाबी गरेका छन् । 

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसले चुनावमा गरेअनुसारको प्रतिवद्धताअनुसार सरकारमै रहनुपर्ने भएपनि सरकारमा रहेका केही राजनीतिक दलहरुले प्रतिवद्धता बिर्सिंदा काँग्रेस प्रतिपक्षमा पुगेको बताए । उनले काँग्रेसले अब २०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन कतै आँखा पनि नलगाउने र हात नलम्ब्याउने पनि नगर्ने बताए । महामन्त्री थापाले प्रतिपक्षको भुमिका निर्वाह गर्दैगर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँग कुराकानी गर्न छोड्ने भन्ने नहुने बताए । उनले काँग्रेस संसदको ठूलो दल र संविधान निर्माण गर्नेको नेतृत्व गरेको पार्टी भएकाले केही जिम्मेवारी रहेको भन्दै संविधानमा केही कुराहरु संशोधनका लागि अन्य राजनीतिक दलहरुसँग कुराकानीमा रहने बताए । 

महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि अभद्र टिप्पणी गर्नुभएको आरोप लगाए । ओलीले महिला भएकै कारणले स्त्रीदोषी अभिव्यक्ति दिएको उनको भनाइ छ । 

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै नयाँ राजनीतिक दल भन्दैमा दोषबाट मुक्त गर्न नमिल्ने बताए । 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update