Mero Chitwan
रत्ननगर वाङ्मय प्रतिष्ठानद्वारा स्रष्टाहरु सम्मानित

चितवन-कवि गोविन्दराज विनोदी पचास हजार राशीको अक्षराश्री पुरस्कारबाट पुरस्कृत भएका छन् । रत्ननगर वाङ्मय प्रतिष्ठान चितवनले शुक्रबार एक समारोहबीच कवि विनोदीलाई सम्मान गरेको हो । 

यसैगरी तिलक शर्मा पौडेललाई बिस हजार राशीको सुमेधाश्री पुरस्कार, गिरीधारी घिमिरे विशिष्टलाई बिस हजार राशीको रत्ननगर वाङ्मय पुरस्कार र उदय मानन्धरलाई रू पन्ध्र हजार राशीको गायन कला साधना सम्मानले सम्मानित गरिएको छ । 

कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा लगायत विशिष्ट अतिथिहरूद्वारा संयुक्त रूपमा रत्ननगर वाङ्मय प्रतिष्ठानको वार्षिक मुखपत्र “रत्नप्रभा " को विमोचन गरिएको थियो । ९१ जना लेखकको साहित्यिक सामग्री भएको रत्नप्रभाको प्रधान सम्पादक रामबाबु घिमिरे र कार्यकारी सम्पादक लक्ष्मण अर्याल र केशवराज आमोदीलगायत सम्पादक मण्डल छन् । सो अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य रामहरी श्रेष्ठ, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, चितवन साहित्य परिषद्का केदारनाथ खनाल, त्रिवेणी साहित्य प्रतिष्ठानका संस्थापक प्रा. डा. नारायण प्रसाद खनाल, पुरस्कृत कवि गोविन्दराज विनोदी, डि आर पोखरेल, चितवन साहित्य सङ्गमका प्रकाश चापागाईं , लकाश पौडेललगायत अन्य वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।‌

कार्यक्रमको सभापतित्व रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेले गरेका थिए । 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update