Mero Chitwan
भरतपुर अस्पतालमा यसै वर्षदेखि एमबीबीएसको पढाइ सुरु गर्ने तयारी तीब्र

काठमाडौं–भरतपुर अस्पतालमा यसै वर्षदेखि चिकित्सा शिक्षाको एमबीबीएसको पढाइ सुरु गर्ने तयारी गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) को आंगिक क्याम्पसका रुपमा भरतपुर अस्पतालमा एमबीबीएस पढाइ हुन लागेको हो । 

नाम्सका शिक्षाध्यक्ष डा. लोचन कार्कीले यसै वर्षदेखि पढाई सुरु गर्ने गरी द्रुत गतिमा तयारी अघि बढेको जानकारी दिए । ‘द्रुत गतिमा काम अघि बढेको छ, हाम्रो चाहना आगामी शैक्षिक सत्रदेखि पढाई सुरु गर्ने हो,’ उनले मेरो चितवनसँग भने । 

नाम्सले भरतपुरसहित नाम्सको वीर अस्पतालमा पनि एमबीबीएस पढाई सुरु गर्नेछ । हालसम्म नाम्सअन्तर्गत स्नातक तहभन्दा माथिको पढाई हुँदै आएको छ । 

भरतपुरमा एमबीबीएस पढाई सुरु गर्न बिहीबार नै विभिन्न १४ विषयका सह प्राध्यापक तथा उपप्राध्यापक पदपूर्तिका लागि विज्ञापन आह्वान भइसकेको छ । शिक्षाध्यक्ष कार्कीले भरतपुर तथा वीर अस्पतालमा एमबीबीएस पढाई सुरु गर्न आफ्नो संयोजकत्वमा तीन वटा कमिटीले काम गरिरहेको जानकारी दिए। उनका अनुसार डा. सन्ध्या चापागाईं संयोजकत्वको समितिले पाठ्यक्रम निर्माण गरिरहेको छ । 

भरतपुर अस्पतालको जग्गामा रहेको सीटीईभीटीअन्तर्गतको स्कुल अफ हेल्थ साइन्सलाई स्थानान्तरण गरी त्यही ठाउँमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी छ। नाम्सका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतको नेतृत्वको टोलीले गत जेठ तेस्रो साता भरतपुर अस्पतालको अनुगमन गरी चिकित्सा शिक्षा पढाउन सकिने अवस्था रहेको निष्कर्ष निकालेको थियो । 

नाम्सले पहिलो चरणमा दुवै अस्पतालमा ५०–५० जनाको कोटा तय गरिएको जनाएको छ। त्यसका लागि चिकित्सा शिक्षा आयोगमा सेल्फ अप्राइजल भरिने र निरीक्षण र अनुगमनपछि आयोगले स्वीकृति दिने शिक्षाध्यक्ष डा. कार्कीले बताए ।

 डा. कार्कीले भरतपुरलाई जस्तै कोशी र भेरी अस्पताललाई आंगिक क्याम्पस बनाउने प्रक्रिया अघि बढाइने बताए । केही समअघि बसेको नाम्सको सिनेट बैठकले कोशी, भरतपुर र भेरी अस्पताललाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको थियो। 

उनले अस्पतालको पूर्वाधार रहेका अन्य केन्द्रीय तथा प्रादेशिक अस्पतालमा पनि मेडिकल कलेज सञ्चालन गर्न सकिने बताए । सरकारले हाल विदेशी विद्यार्थीलाई चिकित्सा शिक्षाको कूल कोटामध्ये १० प्रतिशत दिँदै आएको छ । मेडिकल कलेज खोल्ने र विदेशी विद्यार्थी पनि भित्र्याउन सके नेपाललाई चिकित्सा शिक्षाको हब बनाएर वैदेशिक मुद्रा आर्जन सकिने डा. कार्कीको भनाइ छ। 
यसैबीच, चिकित्सा शिक्षा ऐन २०७५ अनुसार नाम्समा स्नातक तहको पढाइ सञ्चालन गर्न नमिल्ने विवाद झिकिएको उल्लेख गर्दै डा. कार्कीले नाम्समा कार्यक्रममात्र थप गरिएको बताए । ऐनको दफा १२ मा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौ उपत्यकाभित्र मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालनका लािग शिक्षण संस्था स्थापना र सञ्चालन गर्न आशयपत्र प्रदान गरिनेछैन भन्ने उल्लेख छ । डा. कार्कीले नाम्सले यसअघि नै नर्सिङमा स्नातक तहका २ विषयको पढाई सुरु गरिसकेको र सरकारी संस्थाका हकमा आशयपत्र लिनुनपर्ने बताए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update