Mero Chitwan
चितवनका केरा किसानले गत वर्षकै बिमावापतको साढे २ करोड पाउन बाँकी

चितवन–जेठ १७ देखि २० सम्मको हावाहुरीबाट क्षति बेहोरेका चितवनका केरा किसानले बिमा वापतको साढे २ करोड पाउन बाँकी रहेको जनाइएको छ ।

चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेले केराको बिमावापतको गत वर्षको भुक्तानी लिन बाँकी रहेको बताए ।  
एउटा केराको बोटको लागत २ सय ७५ रुपैयाँ कायम गरेर बिमा गरिएको हुन्छ । बिमाको प्रिमियमवापतको ८० प्रतिशत अनुदान सरकारले दिएको हुन्छ भने २० प्रतिशत हिस्सा किसानले बेहोर्ने नीति छ । 

सरकारले उपलब्ध गराउने प्रिमियमवापतको ८० प्रतिशत अनुदान बिमा कम्पनीहरुले सरकारबाट नपाएका कारण किसानले भुक्तानी नपाएको बताइएको छ । 

यस पटकको हावाहुरीका कारण चितवनका केरा किसानको १५ करोडभन्दा बढीको केराखेतीमा क्षति पुगेको संघको तथ्यांक छ । १ सय ४९ किसानले क्षतिको दाबी गरेका थिए । 

अध्यक्ष घिमिरले क्षति मूल्यांकनपछि भुक्तानीका लागि कृषि मन्त्रालय र बिमा संस्थान जाने र बिमा भुक्तानी नपाए चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने बताए ।  गत वर्षको बिमावापतको रकम भुक्तानी गर्न र यो वर्ष भएको क्षतिको यकिन गरी कागज बुझाएको ३५ दिनभित्र रकम दिनुपर्ने केरा किसानको माग छ । 


 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update