काठमाडौंः काठमाडौं महानगरपालिकाले महानगरअ्रन्तर्गतका ४ सय ७३ विद्यालयले कानुनअनुसार १० प्रतिशत निःशुल्क छात्रवृत्ति उपलब्ध गराएको जानकारी गराएको जनाएको छ ।
४ सय ७३ विद्यालयमा १ लाख ४९ हजार ९ सय ५० विद्यार्थी अध्ययनरत रहेकोमा १८ हजार ४ सय २२ जनालाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराइएको जानकारी आएको महानगरले जनाएको हो ।
अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५, शिक्षा नियमावली तथा काठमाडौं महानगरपालिका शिक्षा ऐनअनुसार १० प्रतिशत छात्रवृत्ति दिएको जानकारी गराउन महानगरले संस्थागत विद्यालयलाई निर्देशन दिएकोमा ४ सय ७३ विद्यालयले जानकारी पठाएका हुन् ।
महानगरले बाँकी विद्यालयलाई पनि ३ दिनभित्र उक्त जानकारी पठाउन निर्देशन दिएको छ । जानकारी नपठाउनेलाई विद्यालय बन्द रहेको अभिलेखीकरण राखिने चेतावनी दिएको छ ।त्यस्ता विद्यालयमा बालबालिका भर्ना नगराउन र गरेको भए अन्तै सार्न पनि महानगरले आग्रह गरेको छ ।