Mero Chitwan
गोदावरीका मेयरसहित २३ जनाविरुद्ध १ अर्ब ४ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित २३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले नल्लुको नदी तथा खानीजन्य वस्तुका ढुंगा, गिट्टीलगायत उत्खननका लागि सरकारी दररेट कम गरी ठेक्का दिई भ्रष्टाचार गरेको अभियोगमा सोमबार मुद्दा दायर गरेको हो ।

कम दररेटमा ठेक्का लगाउँदा एक अर्ब चार करोड ८५ लाखभन्दा बढी राजस्व चुहावट भएको भन्दै बिगो बराबरको जरिवाना असुल तथा कैद सजाय मागदाबी गरिएको छ ।

अख्तियारले विशेष अदालतमा सोमबार दर्ता गरेको पाँचथान मुद्दामा नगरप्रमुख महर्जनसहित उपप्रमुख मुना अधिकारी तथा सात कर्मचारी र आठ वटा उद्योगसहित २३ जनालाई विपक्षी बनाइएको हो । भ्रष्टाचार मुद्दा दायर हुनेहरुमा विभिन्न मितिमा प्रमुख प्रशासकीय अधिकृत भएका कृष्णप्रसाद जैशी, वीरेन्द्रदेव भारती, प्रदीप कोइराला र विश्वराज मरासिनीका साथै राजस्व प्रमुख श्रीकण्ठ घिमिरे, श्रीराम आचार्य र यमलाल बेल्वासे पनि छन् ।

यसैगरी लेले तथा नल्लुमा सञ्चालित ढुंगा तथा रोडा उद्योग र तिनका सञ्चालकलाई पनि विपक्षी बनाइएको छ । प्रदेशले निर्धारण गरेको दररेटभन्दा दुईतिहाइभन्दा पनि कम दरमा खानीजन्य ढुंगा, गिट्टी रोडा बालुवालगायत वस्तु उत्खननको ठेक्का लगाई राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा दाबी गरिएको छ ।

 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  २३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update