काठमाडौं : काठमाडौं महानगर प्रमुख बालेन शाहले गिरीबन्धु पीडितको बैना फिर्ता गर्न नेकपा एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् ।
आज बिहान सामाजिक सञ्जालमार्फत उनले ओलीलाई उक्त चेतावनी दिएका हुन् । उनले भनेका छन्, 'समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।'
बालेनले गिरिबन्धुको बैना लिनेहरूलाई दुई वर्षभित्र जग्गा दिलाउँछौँ भनेर थमथमाएको पनि दाबी गरेका छन् । गिरिबन्धुको टी–इस्टेटको जग्गा सट्टापट्टाको विषय ओझेल पार्न महानगरले न्युरोड क्षेत्रमा गर्न लागेको फुटपाथ विस्तार कार्यमा अवरोध गरिएको उनले बताएका हुन्। उनले न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथमा फेरि सडक निर्माण थालिएको भन्दै आपत्ति जनाए।
उनले कोही नयाँ आएर फाइल पल्टाउला र जेल जानु पर्ला भन्दै १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउन आग्रह गरे।
उनले यस्तो भनेका छन् :
१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू । झापा गिरिबन्धुमा बैना लिनेहरूलाई "दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं " भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन । यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।