Mero Chitwan
हावाहुरीले चितवनमा २५०० बिघाको केरा खेतीमा क्षति

चितवन-केही दिनअघि आएको हावाहुरीका कारण चितवनमा लगाइएको दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको छ । 
 
चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेले पूर्वी चितवनमा लगाइएको केरामा बढी मात्रामा क्षति पुगेको बताए । उनले भने, 'पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकामा लगाइएको केरामा ठूलो क्षति भएको छ ।'  जिल्लामा लगाइएको ४० लाख ८७ हजार पाँच सय केरामा क्षति पुगेको उनले बताए । फल लाग्ने समयका केरामा हावाहुरीका कारण क्षति पुगेको छ ।
 
सङ्घका महासचिव जनक पन्तका अनुसार हावाहुरीका कारण केरामा १२ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सत्तरी जना व्यावसायिक किसानको केरा पूर्णरुपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उनले बताए । ९० प्रतिशत किसानले केराको बिमा गरेको र १० प्रतिशत किसानले बिमा नगरेको उनले जानकारी दिए । 
 
बिमा गरेका किसानले क्षति भएबापत केही रकम पाउने भए पनि बिमा नगरेका किसानको पूर्ण क्षति हुने उनले बताए । जिल्लामा हाल तीन हजार पाँच सय बिघाा क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ । उनका अनुसार यहाँ सात सय जना किसानले केरा खेती गरेकोमा हावाहुरीले एक सय ६५ जना किसानको केरामा क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । वास्तविक तथ्याङ्क आउने केही समय लाग्ने उनले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update