काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगमा अहिले दोस्रो चरणका खेलहरु भइरहेका छन् । दोस्रो चरणको खेल अन्तर्गत आज साँझ साढे ५ बजे हुने खेलमा धनगढी एफसीले बुटवल लुम्बिनीको सामना गर्नेछ ।
धनगढीले पहिलो खेलमा डेब्यु टिम वीरगन्जलाई २–१ गोलले हराएको थियो । यता बुटवल लुम्बिनीले भने बलियो टोली ललितपुरसँग २–० को हार व्यहोरेको थियो । त्यसैले आज बुटबल पहिलो जितको खोजीमा हुने छ भने साविक उपविजेता धनगढी लगातार दोस्रो जित दर्ता गर्ने योजनामा छ ।
जारी लिगमा ललितपुरपछि दुई गोल गर्न सफल टिम धनगढी मात्र हो । धनगढीका फरवार्ड अफिज ओलावाले, आशिष चौधरी र मिडफिल्डर फोडे फोफानालाई रोक्न एनएसएलका कुनै डिफेन्डरलाई सजिलो छैन । कप्तान देवेन्द्र तामाङ, कमल श्रेष्ठसहित डियाग्ने फेलो–उसको डिफेन्स पहिलो खेलमा नै निकै अर्गनाइज देखिएको थियो ।
यद्यपि, उनीहरुलाई बुटवलका फरवार्ड स्टेफेन समिर विनोङलाई रोक्न सहज हुने छैन । तर पहिलो खेलमा गोल गर्न चुकेको बुटवलका लागि कप्तान एरिक बिष्टले मिडफिल्डबाट बल निकाल्न सके मात्र फरवार्डका लागि सहज हुनेछ । उसका स्टेफेन समिर मात्र अट्याकिङ बिल्डअप गरेर गोल गर्न सक्ने क्षमता भएका खेलाडी हुन् ।
यस्तोमा बुटवलको फरवार्डमा निकै राम्रो सहकार्यको आवश्यकता चाहिने छ । पहिलो खेलमै दुई गोलको सामना गरेपछि प्रशिक्षक सनोज श्रेष्ठले डिफेन्समा सुधार गर्ने बताएका थिए ।