Mero Chitwan
हुरीका कारण चितवनको केराखेतीमा १२ करोडको क्षति

चितवनः हुरीका कारण चितवनको केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको जनाएका हुन् । 

उनले पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकालगायतका स्थानमा लगाइएको ४० लाख ८७ हजार पाँच सय केराका बोटमा क्षति पुगेको जानकारी दिए । उनका अनुसार पसाएर फल लाग्ने समयका केरामा क्षति पुगेको हो । 

सङ्घका महासचिव जनक पन्तका अनुसार हुरीका कारण १२ करोड बराबरको केरा नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । सत्तरी जना व्यावसायिक किसानले लगाएको केरामा पूर्णरुपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उनले बताए । नब्बे प्रतिशत किसानले केराको बीमा गरेको र १० प्रतिशत किसानले बीमा नगरेको उनले जानकारी दिए । जिल्लामा हाल तीन हजार पाँच सय बिघा क्षेत्रफलमा केरा खेती गरिँदै आइएको छ । उनका अनुसार यहाँ सात सय किसानले केराखेती गरेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update