Mero Chitwan
त्यो भयानक रात

जेठ १९ । त्यो शुक्रबार म दिनभर अफिसको काममै थिएँ । सबै काम सकेर साँझ ६ बजे बाहिर निस्कने बेला सरकारको एडीसी अफिसमा फोन गरेँ । एडीसी सुन्दरप्रताप  रानासँग कुरा भयो । ‘आज अरु केही काम छ कि भनेर सोधेँ“ । जेठ २४ गते हुन लागेको सरकारको सवारीको तयारीबारे हामीबीच केहीबेर कुरा भयो । मैले ‘अघि सरकारबाट रारा भ्रमणको तयारी र व्यवस्थापनबारे हुकुम भएको छ, त्यो सवारीवाहेक अरु केही कुरा छ ? भनेर सोधेँ । सुन्दर कर्साबले आज खासै अरु केही छैन, सरकारको दर्शनभेट छ संवाद सचिवले दर्शनभेट गराउँदै हुनुहुनुहुन्छ भन्नुभयो । 

शुक्रबार बिहान संवाद सचिव मोहनबहादुर पाण्डेको जाहेरी थियो । उहा“को सचिवालयसम्बन्धी काम सैनिक सचिवालयलाई त्यति धेरै थाहा या चासो हुँदैन पनि । आ–आफ्नो काम गर्ने हो । त्यो साँझ उहाँले स्पटलाइट म्यागजिनका सम्पादक माधवकुमार रिमालललाई वीरेन्द्र सरकारसँग दर्शनभेटको समय मिलाउनुभएको थियो । सायद त्यो साँझ उहाँका लागि मात्र दर्शनभेटको कार्यक्रम निर्धारण भएको थियो । अपराह्न चियाका लागि डिल्लीबजारस्थित बडागुरूज्यू नयनराज पाण्डेको घर सवारी भएर सरकारहरु करिब ४५ मिनेट राज भएको थियो । त्यहाँ युवराजधिराजको पनि सवारी भएको थियो । मैले पछि सुने अनुसार युवराजाधिराज त्यहाँ एक शब्द पनि बोलिबक्सेन ।

साँझ संवाद सचिवालयका तर्फबाट दर्शनभेट मिलाइएको हुनाले संवाद सचिव मात्र बस्ने, अरु सबै सचिवहरु जाने भन्ने उर्दी थियो । ६ बजे अफिसको सबै काम सकेर म बाहिर निस्केँ । शाही रक्षक वाहिनीमा हाम्रो ‘ड्रेस चेन्ज’ रूम थियो । त्यहीँ गएर ड्रेस चेन्ज गरेँ । त्यही बेला मैले डा. दुमन थापालाई फोन गरेँ । उहाँ मेरा साथी । हामी दुवैलाई एक जना साथीले खाना खान बोलाएको थियो, नयाँबजारमा । डा. दुमन र म भेटियौँ । ठमेलमा अर्को साथी गणेश पाण्डेलाई लिएर नयाँबजारस्थित साथीको घर गयौँ । हामी त्यहाँ पुग्दा करिब साढे ७ बजेको थियो । हामी ड्रिङ्क्स गरिरहेका थियौँ । त्यस्तै ९ बजेर १५-१६ मिनेट गएको थियो, मेरोे मोबाइल बज्यो । घरबाट गीता (श्रीमती) ले फोन गरेकी रहिछन्। निकै आत्तिएको स्वरमा उनले सोधिन्, ‘तिमी कहाँ हो ? महेन्द्र मन्जिल एडीसी अफिसबाट फोन आएको थियो ।’

मलाई अचम्म लाग्यो । महेन्द्र मन्जिल एडीसी अफिसबाट मलाई किन फोन आयो ? मलाई त श्री सदन एडीसी अफिसले खोज्नुपर्ने हो । महेन्द्र मन्जिल मुमा बडामहारानी रत्नको निवास हो भने श्री सदन महाराजाधिराजको । मैले तुरून्तै महेन्द्र मन्जिल एडीसी अफिसमा फोन गरेँ । ‘त्यहा“बाट मलाई फोन गरेकोे हो ?

होइन भन्ने जवाफ आयो । ड्युटीमा एक लप्टन थिए । उनले उता त्रिभुवन सदनतिर फायरिङको आवाज आएको थियो, त्यताबाट फोन आएको हो कि ? भने ।

यो कुरा करिब ९ बजेतिरको हो । फायरिङको आवाज भन्ने कुराले मेरो मनमा एकै पटक अनेकौं तरंगहरु जन्मायो । मैले तुरुन्त अन्नपूर्ण एडीसी अफिसमा फोन गरें । त्यहाँ फोन उठेन । त्यसपछि समथिङ इज रङ भन्ने लाग्यो । 
तुरून्तै म सबै कार्यक्रम छोडेर राजदरबार जान्छु भनेर निस्किएँ । दुमन, गणेशजी र म बाटोमा आइहेका थियौँ, एकदमै हताश र आत्तिएको स्रमा शाही रक्षक सैनिक प्रहरीका प्रमुख महासेनानी केशव महतको फोन आयो, ‘सर, भयङ्कर समस्या आइपर्‍यो, तपाईं तुरून्तै सैनिक अस्पताल आउनुपर्‍यो ।

त्यति बेला हामी सोह्रखुट्टे आइसकेका थियौ“ । त्यही“बाट हामी तुरून्तै गाडी मोडेर वीरेन्द्र सैनिक अस्पतालतिर लाग्यौ“ । त्यसलगत्तै समारोह  प्रबन्धक कार्यालयका प्रमुख चिरनशमशेर थापाको फोन आयो । उहाँको स्वर पनि निकै आत्तिएको र हताश थियो । ‘जर्साब, मलाई सैनिक प्रहरीबाट आत्तिएको स्वरमा फोन आयो । दरबारमा के भयो ? मैले केही बुझ्न सकिनँ । सायद तपाईंलाई आउनुपर्ने फोन मलाई पो आएको हो कि ?

९ बजेर ३५-३६ मिनेटजति भएको थियो म सैनिक अस्पताल पुग्दा । अलिअलि भीड जम्मा भइसकेको रहेछ । प्रधान सेनापति  प्रज्वल्लशमशेर जबरा पनि आइसक्नुभएको रहेछ । त्यस बेलासम्म मलाई के भएको हो भन्नेबारे केही थाहा थिएन । तर सबै जना मलाई नै ‘के भो भनेर सोध्दै थिए । महासेनानी सुन्दरप्रताप राना त्यति बेला ड्युटीमा प्रमुख एडीसी हुनुहुन्थ्यो । म भित्र पस्दै थिएँ, उहाँसँग जम्काभेट भयो । त्यहीँ टीका धमला जर्साबसँग पनि भेट भयो ।

उहाँहरु दुवैले ‘सर, खत्तम भयो, खत्तम भयो’ मात्र भन्नुभयो । टीका जर्साबले नै मलाई लिएर जानुभयो ट्रमा सेन्टरमा । त्यहाँ कल्पनै नगरेको कारूणिक दृश्य देख्नुपर्‍यो । सहनै नसकिने, मुटु थाम्नै नसकिने दृश्य । जता हेर्‍यो, उतै क्षत–विक्षत र रक्ताम्मे शरीरहरु मात्र ढलेका थिए । वीरेन्द्र सरकार, बडामहारानीको क्षत–विक्षत शरीर । सपना जस्तो लागिरहेको थियो । वीरेन्द्र सरकारलाई बचाउन सकिन्छ कि भनेर धेरै नै कोसिस भइरहेको थियो ।

तर मौसुफमा कहीँ कतै होस थिएन । मैले पनि मौसुफको नाडी छामेँ । शरीरमा अलिअलि मात्र तातो बाँकी थियो । सायद सररकार महाप्रस्थानमा लागिसकिबक्सेको थियो । यसअघि नै बडामहारानीको स्वर्गे भइसकेको रहेछ । सबै डाक्टर हताशामै थिए । छेउमै मुमा बडामहारानी सरकार होइबक्सँदो रहेछ । सरकार स्तब्ध होइबक्सन्थ्यो । मैले अभिवादन गरेँ ।

त्यसपछि मैले सुन्दर कर्साबसँग कुरा गरेँ । उहाँले घटनाको बेलीविस्तार लगाउनुभयो, ‘वीरेन्द्र सरकार  दर्शनभेटको कार्यक्रम सकेर आफ्नो कार्यालयबाट त्रिभुवन सदन सवारी होइबक्स्यो । सरकार रात्रिभोजका लागि त्रिभुवन सदनभित्र सवारी होइबक्सेपछि हामी एडीसी रूममा थियौँ । भित्र पार्टी भइरहेको थियो । सरकारहरु सबै सवारी होइबक्सेको थियो । राजपरिवारका सदस्यको मात्र जमघट भएकाले सदाझैँ हामीले त्यति धेरै चनाखो हुनुपर्ने अवस्था थिएन । त्यसैले हामीले त्यति धेरै चासो दिएनौँ । शान्त थियो वातावरण । कहीँकतै पनि यस्तो होला भन्ने कल्पनै गरिएन । अचानक सुटिङको आवाज सुनिन थाल्यो ।

युवराजधिराबाट सुट भएछ । हामी ढोका फोरेर भित्र छिर्‍यौ“ । भित्र छिर्दा त सबै जना भुइ“मा ढलेको दृश्य मात्र देखियो । वीरेन्द्र सरकार पनि रक्ताम्मे अवस्थामा भुइँमा ढलिबक्सेको थियो । तत्काल हामीले स्थितिलाई नियन्त्रण गर्ने कोसिस त गर्‍यौँ, तर, नहुनु भइसकेको थियो । गोली लागेका सबैलाई कहाँ लैजाने लैजाने भयो । हामीले सैनिक अस्पतालमै उपयुक्त हुन्छ भनेर यहाँ ल्यायौँ । त्यस्तो बेला कोही–कसैसँग सल्लाह गर्ने कुरा पनि भएन । त्यो अवस्थामा तत्काल जे मनमा आयो, हतार–हतारमा हामीले त्यही गर्‍यौ“ । जर्साब, अब के गर्ने ?‍...

(तत्कालीन सैनिक सचिव विवेककुमार शाहको मैले देखेको दरबारको एक अंश )
 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update