Mero Chitwan
एक वर्षमा के गरे भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले 

भरतपुर–भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले आफ्नो नियुक्तिको एक वर्षमा ७० भन्दा बढी काम गरेको दाबी गरेका छन्। 

नियुक्तिको एक वर्ष पूरा भएको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले अस्पतालको भौतिक पूर्वाधार विकासदेखि उपचार सेवासम्म बिस्तार गरिएको बतााए । अस्पतालले हाल दैनिक ३ हजारको हाराहारीमा बिरामीलाई सेवा दिँदै आएको छ भने ११ सय २५ कर्मचारी कार्यरत छन्।

पौडेलले २०७९ चैत १० गतेको मन्त्रिपरिषद्बाट भरतपुर अस्पताललाई राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान-न्याम्सको आंगिक कलेज घोषणा गर्न सफल भएको तथा बिएस्सी नर्सिङ र बिएनएस सञ्चालनको स्वीकृति प्राप्त भई भर्ना प्रारम्भ भएको जानकारी दिए । 

अस्पतालमा सञ्चालित विभिन्न विभाग, वार्ड, शाखा, इकाईहरुसँग आवश्यक मेशिनरी उपकरण, जनशक्ति र सेवा सुधारका लागि योजना कार्यशाला सञ्चालन गरिएको र एकेडेमिक तथा स्टोर भवन अस्पताल विकास समितिबाट निर्माण गर्ने निर्णय भई कार्य प्रारम्भ भएको बताए । 

उनले कार्यभार सम्हालेको एक साताभित्रै श्वेतपत्र जारी गरेका थिए भने नागर्किका गुनासा सम्बोधन गर्न गत भदौ ८ गते सार्वजनिक सुनुवाई गरिएको थियो। 

आकस्मिक कक्षलाई वातानुकुलित बनाईएको  र बिरामीको सहजतालाई ध्यानमा राख्दै सोही भवनबाट बिलिङ, बीमा, प्रयोगशाला, एक्सरे, माईनर शल्यक्रिया र २४ सै घण्टा औषधि उपलब्ध हुने व्यवस्था गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।  यसैगरी आकस्मिकमा  अत्याधुनिक डिजिटल एक्सरे मेसिन राखेर सेवा दिईएको  र इमरजेन्सीको वेडबाट नै रगत संकलन गर्ने व्यवस्था मिलाईएको पौडेलको भनाइ छ ।
डाइलाइसिस मेसिन अभावमा धेरै बिरामी सेवाबाट बञ्चित हुनु परेको गुनासो आएपछि पुरानो दुई वटाको मर्मत र आठ वटा नयाँ थप गरी १८ वटा मेशिनबाट डायलाइसिस सेवा दिईएको उनले बताए । एचआईभी संक्रमितका छुट्टै डाइलाइसिस मेशिन व्यवस्थापन गर्ने पनि उनले उल्लेख गरे । 

२४ सै घण्टा सेवा दिने गरी ईनडोर फार्मेसी सञ्चालन गरिएको,  जलनका बिरामीको उपचारका लागि तीन वटा वेडसहित बर्न केयर वार्ड व्यवस्था गरिएको, जेरियाट्रिक वार्डमा ६ बेड थपिएको तथा कुरुवा घर सञ्चालन गरिएको उनले बताए । यस अवधिमा पाँच वेडको अत्याधुनिक बर्थिङ्ग युनिट संचालनमा आएको छ भने गाइने वार्डलाई पुनर्संरचना गरी दुई वेड पिएनसि थपिएको छ । १० वेडको गाइनो एचडियु संचालनमा ल्याइएको छ । प्रसुती सेवाका लागि आउने बिरामीको सहजताका लागि वार्डसँगै चौबीसै घण्टा सञ्चालन हुने गरी टिकट र बिल काट्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

एनआईसियू १२ बेडमा सञ्चालन हुँदै आएकोमा आठ वटा वेड थप गरी २० वेड सञ्चालन गरिएको छ भने पिआईसियूमा ६ वटा वेड सहितको सेवा शुरु भएको छ । बच्चाहरुका लागि ५ वेडको एचडियू निकट भविष्यमा सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष पौडेलले बताए ।
अस्पतालमा मुटु रोगीका लागि चार बेडसहितको कार्डियाक वार्ड सञ्चालनमा आएको छ भने चार बेडसहित सिसियू संचालनमा आएको छ । नयाँ आईसियू बनाई १४ बेड थप गरिएको छ । 

बिरामीले टिकट काट्न घण्टौं लाइनमा बस्नुपर्ने समस्यालाई मध्यनजर गर्दै कम्प्युटरको सफ्टवेयर परिवर्तन गरी सहज तुल्याईएको छ र बहिरंगको बालरोग विभागमा प्रतीक्षाकक्ष सहित स्तनपान कक्षाको व्यवस्था गरिएको उनले बताए ।

बहिरंग सेवाका बिरामीको सहजतालाई ध्यानमा राखी बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म ओपिडि फार्मेसी सञ्चालन गरिएको छ । वृद्धवृद्धाका लागि छुट्टै औषधि वितरण कक्ष बनाइ सञ्चालनमा ल्याईएको अध्यक्ष पौडेलले बताए । 

पोष्टमार्टमलाई पुनर्संरचना गरी १२ रेफ्रिजेरेटर थप गरी २४ वटासम्म शव राख्न सक्ने व्यवस्था अस्पतालमा यसै अवधिमा भएको छ । शवगृहसँगै प्रतीक्षा कक्ष निर्माण गरिएको छ । पुराना सामग्री राख्न वेयरहाउस बनाई व्यवस्थित गरिएको छ ।

मुटु रोगीको उपचारका लागि प्रभावकारी क्याथल्याबको लागि समिति गठन गरी खरिद प्रक्रिया शुरु गरिएको छ । बायोकेमेस्ट्री र हेमोटोलोटी मेसिन टेण्डर प्रक्रियामा रहेका छन् भने आधुनिक स्पाइनल सर्जरीका लागि फोरके भिजुलेसन सेट आउने क्रममा रहेको उनले जानकारी दिए । यस्तै, युरोलोजी वार्डमा पत्थरी फुटाउने सेवा शुरु गरिएको छ । 

सीमित स्रोत र साधनकाबीच सबैको साथ र सहयोगले यी काम गर्न सफल भएको उनले बताए ।  कतिपय पदमा चिकित्सक माग गर्दा पाउन नसकिएको भन्दै उनले सीमित साधनस्रोत र जनशक्तिमा अधिकतम सेवा दिने प्रयास गरिएको बताए । विकास समितिका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा लैजाने प्रक्रिया समेत शुरु भएको सो अवसरमा जानकारी दिईयो ।

बीमाका औषधिहरु सरकारी झन्झटिलो प्रक्रियाबाट खरिद गर्नुपर्दा सम्पूर्ण औषधिहरु समयमा उपलब्ध हुन नसकेको भन्दै अध्यक्ष पौडेलले अधिकतम औषधि उपलब्ध हुने गरी प्रयास भईरहेको बताए । औषधि खरिदका लागि लामो लाईन बस्नुपर्ने बाध्यतालाई कम गर्ने अस्पतालका पाँच ठाउँबाट औषधि खरिद गर्ने व्यवस्था मिलाईएको उनको भनाई छ ।
 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  २२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update