Mero Chitwan
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया हाजिरी जमानीमा रिहा

काठमाडौं- नागरिकता प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । 

जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हाजिरी जमानीमा हिरासतमुक्त गरेको हो । उनलाई आफन्तको  जिम्मामा छाडिएको छ ।

उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिरहन नपर्ने भनी जिल्ला सरकारी वकिलको कार्यालयले गरेको निर्णयका आधारमा हाजिरी जमानीमा छाडिएको हो । अध्यक्ष सिरोहियालाई काठमाडौं थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाट जेठ ८ गते प्रहरीले पक्राउ गरी स्थलमार्गबाट धनुषा लगेको थियो ।

अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएका अध्यक्ष सिरोहियाको रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि जेठ ११ गते हिरासतबाट अस्पताल भर्ना गरिएको थियो । प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सिरोहियालाई सारिएको थियो । काव्या अस्पतालले ललितपुरको मेडिसिटी अस्पताल रिफर गरेको थियो । उनलाई जेठ १५ गते ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालको कोरोनरी केयर युनिट (सीसीयू) मा भर्ना गरिएको थियो । 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  २२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update