कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री पाण्डेसहित मन्त्रीद्वयलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराउनुभयो । कांग्रेसका विन्दुकुमार थापाले सामाजिक विकास र उर्जा र लमजुङका टकराज गुरूङले अर्थ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
पाण्डेलाई सर्वोच्च अदालतले सोमबार ४८ घण्टा भित्र ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गर्न सोमबार परमादेश दिएको थियो । ६० सदस्यीय प्रदेश सभामा ३० लाई बहुमत मानेर एमालेका खगराज अधिकारीले विश्वासको मत लिएपछि पाण्डेले सर्वोच्चमा प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्रीलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको थियो ।
मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले अब ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेछ । तर उहाँले विश्वासको मत पाइहाल्ने आधार भने देखिँदैन । ६० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।