चितवन- भरतपुर महानगरपालिका–१, पुलचोकस्थित हङ्ग्री टम रेस्टुरेन्टमा खाजा खाएका ७ जना बिरामी भएपछि जिल्ला प्रशासन कार्यालयले उक्त रेस्टुरेन्टलाई सिल गरेको छ ।
सो रेस्टुरेन्टमा पिजा, मम, चिकेन, चाउमिनजस्ता खाजा खाने क्रममा नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट–७ बस्ने ३२ वर्षीया सुनिता लामा, निजका छोरा ५ वर्षीय सुहान दराई, निजका छोरी १० वर्षीया सुहाना दराई, भरतपुर–११ बस्ने ३३ वर्षीया रिना गिरी, निजका श्रीमान् सोही ठाउँ बस्ने ४२ वर्षीय शिवलाल गिरी, निजका छोरी ९ वर्षीया प्रिन्स गिरी र निजका निजका बहिनी २३ वर्षीया सारु गिरी बिरामी भएका हुन् ।
उनीहरुलाई भरतपुर सामुदायिक अस्पताल भर्ना गरिएकोमा केही डिस्चार्ज भएका छन् ।
होटलको खाजा खाएर विरामी भएको भन्ने उजुरी आएपछि प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले होटलमा अनुगमन गर्न निर्देशन दिएका थिए । अनुगमनका क्रममा होटलमा खानेकुरा तार्न प्रयोग भइरहेको तेलको गुणस्तर र फ्रिजको तापक्रममा कैफियत भेटिएकाले अर्काे आदेश नहुँदासम्मका लागि रेष्टुरेन्टको किचनमा सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले जानकारी दिएका छन् ।