Mero Chitwan
यी हुन् बजेटमा परेका चितवनका गेमचेन्जर आयोजना

चितवन–अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आथिक वर्ष २०८१÷८२ को बजेटमा चितवनका विभिन्न परियोजनाले प्राथमिकता पाएका छन्। 

बजेटमा भरतपुर विमानस्थल विस्तारको कार्य आगामी वर्ष सम्पन्न गर्न ३६ करोड विनियोजन गरिएको छ । यस्तै, भरतपुरमा निर्माणाधीन गौतम बुद्ध रङ्गशाला संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण कार्य अगाडि बढाइनेछ। 

यस्तै, आर्थिक वृद्धिका सम्भावनाका क्षेत्रलाई समेटी एकीकृत विकासको अवधारणा अनुरूप नमूना विकास अभियान सञ्‍चालन गर्न भरतपुर–बुटवल–पोखरा (मुग्लिङ्ग) लाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरिएको छ । यस परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक इकोसिस्टम निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिनेछ।  परियोजना कार्यान्वयनका लागि भरतपुर कोणमा पर्यापर्यटन सेवा, जलयात्रा र विशिष्टीकृत स्वास्थ्य सेवा सञ्चालन गरिनेछ । 

यस्तै, राष्ट्रिय राजमार्ग र रणनीतिक सडकअन्तर्गत १ सय ५० वटा पुल निर्माण गरिने योजनाअन्तर्गत नारायणीमा सिग्नेचर ब्रिज निर्माण बजेटमा समावेश गरिएको  छ। यी कार्यक्रमका लागि रु २ अर्ब ४६ करोड विनियोजन गरिएको छ। 

नारायणी नदीमा जलमार्ग निर्माण शुरू गरिनेछ। नारायणी नदीमा सञ्‍चालित जलयानमा यात्रु चढ्न र ओर्लन सहज र सुरक्षित हुने गरी टर्मिनल निर्माण गरिनेछ।   चितवनमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिनेछ। नारायणी नदीबाट चितवनमा थोक वितरण प्रणालीबाट पानी आपूर्ति गर्न सम्भाव्यता अध्ययन गरिनेछ। चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण अघि बढाइनेछ । 

भरतपुर अस्पतालको क्षमता विकास गरी ५०० शैयामा स्तरोन्नति गरिनेछ। आगामी आर्थिक वर्ष चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस सञ्‍चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update