काठमाडौं- सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकका परिवारलाई जनही १० लाख राहत दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख दिने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सरकारले उक्त घटनामा घाइतेहरुको उपचारमा लागेको खर्च बेहोर्ने निर्णय पनि गरेको छ ।
कोरियन भाषा परीक्षामा सहभागी नगराएको विरोधमा शुक्रबार बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुई युवकको ज्यान गएको थियो । शुक्रबार भएको बालकुमारी घटनामा अछाम जिल्लाको चौरपाटी गाउँपालिका - १ का २१ वर्षीय वीरेन्द्र शाह र दैलेख जिल्लाको महाबु गाउँपालिका-६ का २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । घाइते रावतको उपचारको क्रममा किस्ट अस्पताल र शाहको पाटन अस्पतालमा मृत्यु भएको थियो ।
यस्तै सरकारले ललितपुरको बालकुमारीमा भएको घटनामा कमजोरी भएको भन्दै ईपीएस कोरिया शाखाका निर्देशक, ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ । ईपीएस शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई तत्कालका लागि निलम्बन गरिएको छ भने प्रजिअ रुद्रसाद पण्डित, ललितपुरका प्रहरी प्रमुख शिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाउँदै गृहमन्त्रालयमा तानिएको छ ।
बालकुमारी घटनाका बेला फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवारलाई समेत निलम्बन गर्ने निर्णय भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबारबाट काठमाडौंमा सुरु भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बालकुमारी घटनामा केही कमजोरी भएको बताउँदै जिम्मेवार अधिकारीहरुलाई निलम्बन गरिएको जानकारी दिएका थिए ।
प्रधानमन्त्री दाहालले बालकुमारी घटनाबारे आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसहित काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारीसँग ब्रिफिङ लिएका थिए ।