Mero Chitwan
१९ खर्ब हाराहारीको बजेट आउँदै

काठमाडौँ-आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसद्मा पेस हुँदैछ । अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

नेपालको संविधान २०७२ को धारा ११९ को व्यवस्थाअनुसार अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्वको अनुमान, सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र सङ्घीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकम खुलाई वार्षिक अनुमान पेस गर्नुपर्ने उल्लेख छ । 

यसरी वार्षिक अनुमान पेस गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन त्यसको विवरण पनि साथै पेस गर्नुपर्ने व्यवस्था छ । राजस्व र व्ययको अनुमान प्रत्येक जेठ महिनाको १५ गते सङ्घीय संसद्मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यसपटक उत्पादन  र रोजगारी वृद्धिलाई प्राथमिकता दिँदै १९ खर्ब हाराहारीको बजेट ल्याइदैछ। यसअघि १८ खर्बको सिलिङ दिइए पनि राष्ट्रिय स्रोत अनुमान समितिले हिजो बजेट सिलिङ संशोधन गरेको हो । सत्तारुढ दलको दबाबमा वितरणमुखी कार्यक्रम थपिएपछि बजेटको आकार बढाइएको हो । 

१६औं योजनाले लिएका उत्पादन र रोजगारी वृद्धिको लक्ष्यमा केन्द्रित रहने गरी बजेट ल्याउन लागिएको अर्थ मन्त्रालयले जनाएको छ । यसपटकको बजेटमा सरकारले नीति तथा कार्यक्रमअनुसार नै  स्टार्टअपहरुका लागि बीउ पुँजी तथा नवउद्यमीहरुलाई प्रोत्साहन गर्ने नीति लिनेछ । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाका कार्यक्रमलाई जोड दिनेछ भने निर्माण तथा औद्योगिक क्षेत्रलाई सम्बोधन गर्ने किसिमको कार्यक्रम बजेटमा समेट्ने जनाइएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update