Mero Chitwan
बर्सेनि ३० करोड बालबालिका हुन्छन्  अनलाइन यौन शोषणको शिकार
सांकेतिक तस्बिर

एजेन्सी-हरेक वर्ष ३० करोडभन्दा बढी बालबालिका अनलाइन यौन शोषणको सिकार हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

बेलायतको एडिनबर्ग युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा हरेक वर्ष विश्वभर ३० करोडभन्दा बढी बालबालिका अनलाइन यौन शोषण र दुर्व्यवहारको सिकार हुने गरेको पाइएको हो। मे २७ मा प्रकाशित यस अनुसन्धान प्रतिवेदनका अनुसार पछिल्लो १२ महिनामा विश्वका प्रत्येक आठौं बालबालिका इन्टरनेटमा यौन शोषणको सिकार भइरहेका छन् । 

अनलाइन यौन उत्पीडन ब्ल्याकमेलिङसम्म पुग्ने गरेको छ । अधिकांश अवस्थामा पीडकले बालबालिकालाई तस्बिर पठाउन लगाएर त्यसको बदलामा पैसा असुल्नेसमेत गरेका छन् । यसबाहेक आर्टिफिसियल इन्टेलिजेन्स र डिपफेक प्रविधिबाट आपत्तिजनक भिडियो र तस्विर बनाएर पनि बालबालिकालाई शिकार बनाइएको पाइएको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार यो समस्या विश्वभर फैलिएको छ। तर अमेरिकामा यसको खतरा निकै उच्च रहेको अनुमान गरिएको छ । अमेरिकामा हरेक नौ जनामध्ये एक जनाले कुनै न कुनै समयमा बालबालिकामाथि अनलाइन दुर्व्यवहार गरेको बताएका छन् । 

चाइल्डलाइटका प्रमुख, पॉल स्ट्यानफिल्ड भन्छन्, 'यौन दुर्व्यवहार हुने बालबालिकाको संख्या यति धेरै छ कि, औसतमा, प्रत्येक सेकेन्डमा पुलिस वा कुनै परोपकारी संस्थामा यस्ता घटनाको रिपोर्ट परिरहेका छन् ।' गत महिना, बेलायती प्रहरीले पश्चिम अफ्रिका र दक्षिण-पूर्वी एसियामा सक्रिय गिरोहहरूद्वारा ब्रिटिश किशोर किशोरीहरूलाई यौन दुर्व्यवहार र ब्ल्याकमेल गरिएको जानकारी दिएको थियो।

बेलायतको नेशनल क्राइम एजेन्सी (एनसीए) ले शिक्षकहरूलाई आफ्ना विद्यार्थीसँगको यस्तो व्यवहारबारे सचेत रहन चेतावनी दिएको थियो।

अधिकारीहरूका अनुसार अपराधीहरूले एउटै उमेरको भनी सोसल मिडियामा बालबालिकालाई सम्पर्क गर्छन् र त्यसपछि इन्क्रिप्टेड मेसेजिङ एप्समार्फत् कुराकानी बढाउँछन् र पीडितहरूलाई उनीहरूको व्यक्तिगत फोटो वा भिडियो शेयर गर्न प्रोत्साहित गर्छन्।

उनीहरुको उद्देश्य शारीरिक सन्तुष्टि नभई पैसा उठाउने भएकाले व्यक्तिगत तस्बिर पाएको एक घण्टाभित्रै ब्ल्याकमेल गर्ने र जति सक्दो पैसा असुल्ने प्रयास गर्ने गरेको देखिएको छ ।

भारतमा पनि यस्ता अपराधमा तीव्र वृद्धि भएको देखिएको छ । गत वर्षको एक रिपोर्ट अनुसार सन् २०१९ यता भारतमा बालबालिकाको अनलाइन यौन शोषणका घटना ८७ प्रतिशतले बढेको छ । नेशनल सेन्टर फर मिसिङ एण्ड एक्स्प्लोइटेड चिल्ड्रेन नामक संस्थाको प्रतिवेदनमा बालबालिकाको यौन शोषणको अनलाइन सामग्री ३.२ करोडले बढेको बताइएको छ ।

'वी प्रोटेक्ट ग्लोबल एलायन्स' ले अक्टोबरमा सार्वजनिक गरेको चौथो वार्षिक प्रतिवेदनमा २०२१ मा गरिएको सर्वेक्षणमा सहभागी ५४ प्रतिशतले बाल्यकालमा अनलाइन यौन शोषणको सामना गरेको उल्लेख  थियो। साथै, सन् २०२० र २०२२ को बीचमा बालबालिकाले इन्टरनेटमा आफ्ना व्यक्तिगत तस्बिर वा भिडियोहरू सेयर गर्ने घटनामा ३६० प्रतिशतले वृद्धि भएको थियो।

यस प्रतिवेदनमा भनिएको थियो कि सामाजिक अनलाइन गेमिङ प्लेटफर्महरू विशेष गरी बालबालिकाको यौन शोषणको अड्डा बनिरहेको छ। सन् २०२१ मा व्यक्तिगत तस्विरका आधारमा पैसा असुल्ने घटनाका उजुरी १३९ थिए भने २०२२ मा दश हजार नाघेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update