रत्ननगर-रत्ननगर महोत्सव यही पुस २६ गतेबाट सुरु हुने भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिकास्थित टिकौलीचौरमा महोत्सवको आयोजना गर्न लागिएको हो ।
रत्ननगर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवको तयारीका बारेमा आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो । महोत्सवमा यस वर्ष कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइएको छ ।
रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको यो १२ औँ संस्करण हो । सङ्घका अध्यक्ष तथा महोत्सव मूल व्यवस्थापन समितिका संयोजक शङ्कर गिरीले यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रको आधुनिकीकरण तथा वैज्ञानिक उत्पादनलाई जोड दिने बताए । दुई दशकदेखि प्रत्येक दुई–दुई वर्षमा महोत्सव आयोजना हुँदै आएको छ ।
कोरोना महामारीका कारण सिर्जित स्वास्थ्य र आर्थिक सङ्कटबाट तङ्ग्रिन नभ्याउदै देशमा सुरु भएको चरम आर्थिक मन्दीले देशको औद्योगिक एवं व्यावसायिक क्षेत्र अभुतपूर्व सङ्कटबाट गुज्रिरहेको भन्दै अध्यक्ष गिरीले महोत्सवमार्फत उद्योग, कृषि र पर्यटन एवं आर्थिक गतिविधिलाई चलायमान गराउन महोत्सव उपयोगी हुने बताए ।
महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृतिसहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरी करिब चार सय ५० व्यापारिक कक्ष रहने छन् ।