काठमाडौैं-कास्कीको कास्कीकोटको सार्वजनिक जग्गामा छाप्रो हालेर बसेका थिए उनी । ब्राम्हण कूलका थिए, तर, उनको थरपछाडि झुण्डिएको थियो–तथाकथित दलित समुदायको थर । अर्थात्,उनको पूरा नाम थियो–पुजार सार्की ।
उनले दलित समुदायकी युवती बिहे गरेका थिए । कली सार्की थियो नाम ।
सामान्यतः समाजमा बिहे गरेर आएकी युवतीले श्रीमानको थर ग्रहण गर्छन् । तर, यहाँ उल्टो भएको थियो । समाजले पुजारलाई श्रीमतीको थर दिएको थियो । उनी जात घटुवामा परेका थिए ।
तर, जात घटुवामा परेर पनि उनी कतै, भागेनन्, कतै पलायन भएनन् । त्यही समाजको सामना गरेर बसेका थिए ।
त्यही गाउँमा जन्मिएका लेखक विकास सुवेदी पुजार सार्कीले भोगिरहेको यो पीडा प्रत्यक्ष हेरेरै हुर्किए ।
पुजार सार्की, जसलाई उनी ठूला बा भन्थे, उनलाई लाग्थ्यो–कसरी हुन्छ जात घटुवा । अनि, पुजारले त्यो समाजसँग गरेको संघर्ष ठूलो साहसजस्तो लाग्थ्यो, उनलाई ।
अनि, विकासले समाजको वर्णव्यवस्था र जातीय छुवाछुतबारे प्राचिन धर्मग्रन्थमा के लेखिएको रहेछ भनेर अध्ययन गर्न थाले ।
गीता पढे, वेद पढे ।
तर, न वेदमा वर्णव्यवस्थाबारे केही उल्लेख गरिएको छ, न परिकल्पना नै ।
र, पनि समाजमा किन छुवाछुतको कुरीति छ त ?
यो विषय समाजले बुझ्नै पर्छजस्तो लाग्यो उनलाई । आफ्नो आमाले जसरी विभेद गरिरहनु भएको छ, उहाँलाई समेत बुझाउनुपर्छ भन्ने लाग्यो ।
पुजार सार्कीको विषयमा फिल्म बनाउनुपर्छ भन्ने उनलाई लाग्यो ।
तर, फिल्म बनाउन त्यति सजिलो थिएन । आफ्ना निकट सहकर्मी, साथीहरुलाई भने। तर, कसैले पनि फिल्म बन्छ भन्ने आँट दिन सकेनन् ।
त्यसअघि जुम्लाका एक विद्यार्थीको कथाबारे लेखेको ‘प्रकाश’ ले राम्रो बजार पाइरहेको थियो । त्यसपछि उनीप्रति बजारको अपेक्षा बढिरहेको थियो, विकासले राम्रो कथा दिन सक्छ भनेर ।
उनले आफूसँग पहिले पनि काम गरिसकेको नाताले निर्देशक दिनेश राउतलाई कथा सुनाए । दिनेशले भने, ‘फिल्म त बन्ला, कमर्सियलचाहिँ बन्न सक्दैन।’
केही समय फिल्म बन्ने, बनाउने योजना त्यत्तिकै रह्यो ।
एकदिन विकास साथी सुवास भुसाललाई लिएर गाउँ गएका थिए ।
पुजार सार्की बसेको छाप्रो बाटैमा पर्थ्यो ।
त्यही क्रममा उनको मनको कुनामा गढेर बसेका पुजारका बारेमा उनले सुवासलाई सुनाए ।
सबै सुनेपछि सुवासले भने, ‘ल, यो विषयमा म फिल्म बनाउछु।’
विकासले पत्याएनन् । फिल्म बनाउनु चानेचुने कुरा थिए । ३ करोडको फिल्म सुवासले कसरी बनाउलान् भन्ने लाग्यो विकासलाई । कति बेला त उनले ‘भो नबनाउनु, घरखेतै जाला’ सम्म भने ।
तर, सुवासले हार मानेनन् । उनले फिल्म बनाउने घोषणा गरे । अनि, सम्झौता भयो, फिल्मको औपचारिक प्रक्रिया अघि बढ्यो ।
फिल्मको केन्द्रीय पात्र अर्थात् पुजार सार्कीको भूमिकामा आर्यन सिग्देल छनोट भए ।
जसलाई अन्तिम नतिजा अहिले हलहरुमा छ । दर्शकले राम्रो प्रतिक्रिया देखाइरहेका छन् । फिल्मले प्रशंसा बटुलिरहेको छ ।
‘नेपालमा मुलुकी ऐनले जातीय छुवाछुतलाई अपराध मानेको हो, छुवाछुत अन्त्य गर्न विभिन्न समयमा आन्दोलन, अभियान सञ्चालन गरिए, त्यसमा दलित समुदायको भूमिका भूमिका रह्यो,’ विकास भन्छन्, ‘तै पनि छुवाछुत, जातीय विभेद समाजबाट हट्न सकेको छैन, यसका लागि पनि यो फिल्मले सन्देश दिएको छ र अहिलेसम्म बनेको फिल्मभन्दा यो फरक बनेको छ।’
‘राजनीतिक रुपमा पनि दलित आन्दोलन कसरी अघि बढेको छ भन्ने सन्देश पनि यो फिल्मले दिएको छ,’ विकास भन्छन् ।