काठमाडौं–जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले गरेको फैसलामा लामिछानेलाई दोषी ठहर गरेको त छ, तर अहिले नै सजाय भने तोकिसकेको छैन । सजाय तोक्नका लागि पुस २५ को पेसी तोक्ने आदेश पनि फैसलामा गरिएको छ ।
त्यसो भए लामिछानेलाई कति वर्षको जेल सजाय होला ?
फैसलामा लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) ङ बमोजिमको कसुर गरेको उल्लेख छ । दफा २१९ को उपदफा (१) ले ‘कसैले जबरजस्ती करणी गर्न हुँदैन । त्यस्तै उपदफा ९२० ले भनेको छ,‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै वालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा वालिकालाई जबर्जस्ती करणी गरेको मानिने छ ।’ भनिएको छ ।
फैसलामा पीडित गौशाला २६ नाबालिग नठहर्ने उल्लेख छ । विभिन्न कागजातका आधारमा पीडितको जन्ममिति २०६१ असार ३ गते भएको अदालतले जनाएको छ । यसअनुसार पीडित बालिग हुन् ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (३) को ‘ङ’ मा १८ वर्षभन्दा माथिको महिलालाई गरिएको करणीमा हुने सजायबारे उल्लेख गर्दै भनिएको छ, ‘१८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म जेल सजाय हुने उल्लेख छ। यसअनुसार सन्दीपलाई घटीमा ७ वर्ष र बढीमा १० वर्ष जेल सजाय हुनेदेखिन्छ ।
यस्तै, मुलुकी अपराध संहिताको दफा २२८ ले कसुरदारबाट पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने समेत व्यवस्था गरेको छ ।
पुस २५ सम्म उनी पक्राउ पर्नेछैनन्। हाल सन्दीप वीरगन्जमा रहेर प्रो च्याम्पियन क्रिकेट खेलिरहेका छन्।