काठमाडौं-सहकारी रकम हिनामिनामा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको नेपाली कांग्रेस आजदेखि सडक आन्दोलनमा पनि उत्रने भएको छ ।
बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले आज काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन गर्ने निर्णय गरेको हो । त्यसपछि ठगी भएका ठूला सहकारी रहेका सहर पोखरा, बुटवलमा आन्दोलन गर्ने कांग्रेसको तयारी छ ।
सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै सदन र सडकबाट सहकारी पीडितको पक्षमा आवाज उठाउने निर्णय गरिएको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिएकी छन् ।
कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै सदनमा अवरोध गर्दै आएको छ।
सहकारीको बचत अपचलन, हिनामिना, ठगी र दुरूपयोगका सन्दर्भमा संसदीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सैद्धान्तिक सहमति भएको छ। तर छानबिन समिति कार्यदलको तीन चरणमा बैठक बसे पनि क्षेत्राधिकार टुंगो लागेको छैन। नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री नै मुछिएको भन्दै उनको नाम लेखेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ।
एमाले र रास्वपाले भने गृहमन्त्री जोडिएको भनिएको बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारीको नाम अनुसूचीमा लेखेर जानुपर्ने बताएपछि कुरा मिल्न नसकेको हो।