Mero Chitwan
४० वर्षअघिको ताहुँ

२०४० सालताका जागिरको सिलसिलामा पाल्पा पुग्दा म निकै उत्साहित बनेको थिएँ । यसो हुनुमा कुनै एउटामात्र नभइ अनगिन्ती  कारण थिए । पाल्पालाई दार्जिलिङ शहरसँग तुलना गरेर नेपालको दार्जिलिङ भन्ने गरिन्थ्यो । पाल्पाली ढाका कपडा उद्योगको चर्चा यसरी फैलिएको थियो कि, कहिले तानसेन पुगौं र ढाका कपडा बनाउने प्रविधि आफ्नै आँखाले देखौं झैं लाग्थ्यो ।

२०१४ सालमा नगरपालिका बनेर २०१७ सालमा नगर पञ्चायतमा  परिणत भएको यो पुरानो शहरले मेरो मन धेरै पहिलेदेखि तानिरहेको थियो  तर तानसेन पुग्ने अवसर प्राप्त भएको थिएन । पाल्पाको भैरवस्थान, रम्भा पानी, सत्यवती र रामपुर फाँटको बयान निकै पहिले सुनिसकेकाले पाल्पाले मलाई निकै आकर्षित गर्ने गरेको थियो । लाग्थ्यो, एक पटक पाल्पा भ्रमणमा निस्कन पाए कति गजब हुन्थ्यो होला ! तर अहिलेजस्तै आन्तरिक भ्रमण गर्ने प्रचलन  थिएन । न अहिले जस्तै युट्युवमा हेरेर मन बुझाउन सकिन्थ्यो !  सबैभन्दा महत्त्वपूर्ण कुरा स्कूल कलेज पढ्दै गरेको एउटा सामान्य विद्यार्थीसँग न घुमफिर गर्ने पैसा हुन्थ्यो, न समय ! 

 जब मैले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेँ , एक्कासि मेरो मनमा लामो समयदेखि गुम्सिएर  बसेको रहर अचानक पुरा हुने भयो । मैले पाल्पास्थित जिल्ला कृषि विकास कार्यालयका लागि स्थायी नियुक्ति पाएँ । मेरो भुइँमा खुट्टा पनि थिएन, अब मैले सपनाको पाल्पा सहजै देख्न पाउने भएको थिएँ आफ्नै आँखाले, त्यो पनि विपनामा !

कृषि विकास कार्यालयले गरेको कार्यक्षेत्र विभाजन अनुसार केही दिनमा गल्धा र अर्चलेमा कृषि प्रसार गर्ने  जिम्मेवारी लिएर म त्यतैतिर लागेँ । त्यसबेला मुलुकका निकै पातलो  र केही शहरी सडकसँग मात्र  साक्षात्कार गरेको मलाइ, आर्य भन्ज्याङबाट बिरकोटसम्मको ग्रामीण सडकले मेरो मन झसङ्ग बनाइ दिएको थियो । त्यसबेला मैले देखेको यो पहिलो गाडी गुड्ने ग्रामीण सडक थियो । आखिर सडक भनेको एउटा शहरदेखि अर्को शहर जोड्ने साधनमात्र होइन रहेछ । सडकले राजमार्ग र शहरसँग कुनै दुर्गम गाउँ पनि जोड्न सकिने रहेछ । यो पाल्पाली सोच देख्दा मलाई केहीबेर सोच्न बाध्य बनाएको थियो।

कमसेकम आर्यभन्ज्याङ्गबाट मौका मिले पुरानो रसियन जीपमा र त्यो उपलब्ध  नभए ट्रैक्टरको सवारीमा भएपनि  कच्ची  बाटो नै किन नहोस्, मजाले ताहुँसम्मको यात्रा गर्न पाइन्थ्यो ।

त्यतिबेला गोरखा सदरमुकामा भर्खरै सडक  पुग्दा यहाँ  भने यस्तो ग्रामीण सडक समेत देख्न पाउनु मेरा लागि कम आश्चर्यको विषय थिएन !  गल्धा जाने क्रममा जब म ताहुँ पुगेँ, निकै सुन्दर र आकर्षक देखिन्थ्यो । थुम्कादेखि पल्लो बजारसम्म  लमतन्न फैलिएको दोहोरो नेवार हटियाले ताहुँको भूमिलाई निकै शोभा दिइरहेझैँ लाग्थ्यो । कपडा पसल, किराना पसल, मिठाइ पसल, होटल , रेष्टुरेन्ट भाँडा पसल र औषधि पसलसहित त्यहाँ लगभग सबै प्रकारका पसलहरू थिए । 

ताहुँको तुलनामा गल्धा निकै टाढा र दुर्गम थियो भने गल्धा यातायात सुविधा र बजार सुविधाबाट समेत वञ्चित थियो । कमसेकम आर्यभन्ज्याङ्गबाट मौका मिले पुरानो रसियन जीपमा र त्यो उपलब्ध  नभए ट्रैक्टरको सवारीमा भए पनि  कच्ची  बाटो नै किन नहोस्, मजाले ताहुँसम्मको यात्रा गर्न पाइन्थ्यो ।

तीन चार महिनाको  गल्धा बसाइपछि मैले निकै अनुरोध गरेर ताहुँ कार्यक्षेत्र माग गर्दै कार्यालयमा निवेदन दिएँ । तत्काल त्यसको सुनुवाई भयो । अब आफूले मनले खाएको सुन्दर ताहुँ बजार मेरो कार्यक्षेत्र बनिसकेको थियो । साथमा मैले हेक्लाङ्गको समेत जिम्मेवारी पाएको थिएँ  । लगातार आठ वर्षसम्म मैले त्यो रमणीय गाउँ ताहुँमा रहेर कृषि प्रसार गर्ने अवसर पाएँ । 

साँच्चै प्राकृतिक सुन्दरताले भरिपूर्ण ताहुँ सानो पहाडी बजार मात्र थिएन.  पूर्वी पाल्पा जाने र पूर्वी पाल्पाबाट तानसेन भित्रिने  प्रमुख नाका पनि थियो । बजारको माथिल्लो भागमा रम्भा पानी जङ्गल, बजारको तल्लो भागमा वृक्षारोपण गरेर हुर्काइएका हरिया सल्लाका रूख र पानीको पँधेरोले ताहुँ बजार निकै सुन्दर  देखिन्थ्यो । झ्वाट्ट हेर्दा रिम्घा लेकको काखमा अबस्थित रम्भापानी जङ्गल  सामान्य देखिए पनि त्यो जङ्गल प्राकृतिक विविधताले भरिपूर्ण थियो । त्यहाँ काफल, चुत्रो ,ऐँसेलु वनतरुल मात्र होइन वेतबाँस र खल्लुकका रुख पनि प्रशस्त पाइन्थे । भनिन्थ्यो त्यहाँ अधिकांश औषधिजन्य वनस्पतिका रुखहरू छन्  । अनेक प्रजातिका चराचुरुङ्गी र वन्यजन्तु समेत यहाँको जङ्गलमा पाइने भएकोले रम्भा पानी  जङ्गललाई विशेष महत्त्वका साथ हेर्ने गरिन्थ्यो । यसै रम्भा पानीको वनभित्र रहेको प्रसिद्ध रम्भा देवीको मन्दिरमा हामी बेला बेलामा दर्शन गर्ने र घुम्ने उद्देश्य लिएर जान्थ्यौं । त्यहाँ हामी कैयौं पटक बनभोजका लागि पनि पुग्यौं। 

ee0c5464-c861-4131-b9aa-23ce877c2a84-1716597719.jpeg

हामीले कृष्णाष्टमीमा मेला लाग्ने गरेको (जन्माष्टमी डाँडा) नाचन डाँडामा बसेर अघाउन्जेल बजार र वरपरका सुन्दर दृश्यहरूको दृश्यावलोकन गर्न छुटाएनौं । पाल्पामा तानसेनको भगवती जात्रापछि अत्यधिक मान्छे भेला हुने जात्रामा गनिन्थ्यो ताहुँको जन्माष्टमी मेला । मेलामा विभिन्न स्थानीय परिकारहरू बटुक, बिरौंला, झिनिया रोटी आदि बिक्रीका लागि राखिएको हुन्थ्यो भने कौडा, घाँटु र सोरठी जस्ता पाल्पाका लोकप्रिय गीत र नृत्यहरूको रसास्वादन गर्न पाइन्थ्यो ।  मैले यसभन्दा अघि गोरखामा अवलोकन गर्ने गरेका जात्रा,  ताहुँमा हुने  यो जात्राभन्दा एकदम भिन्न हुन्थ्यो ।  त्यहाँ उपलब्ध परिकार र गीत तथा नृत्य मेरा लागि निकै नौला र आकर्षक थिए । त्यसैले म काम विशेष तानसेन, गोरखा जतातिर गए पनि जन्माष्टमी जात्रा अवलोकनका  लागि जसरी भए पनि ताहुँ फर्कने गरेको थिएँ ।

पहाडको काखमा थुपुक्क बसेको ताहुँ बजारको हावापानी मध्यम प्रकारको थियो । यहाँ न अत्यधिक धेरै गर्मी हुन्थ्यो न कठ्याङ्ग्रिने खालको जाडो ! रम्भा पानी जङ्गलबाट ल्याइएको पानीलाई बजारभन्दा माथि तिर एउटा टयाङ्की बनाएर सङ्कलन गरिएको थियो र गाउँमा वितरण गरिन्थ्यो ।

रम्भा देवीको दर्शन गर्न स्थानीय व्यक्तिहरू लगायत आसपासका क्षेत्रहरूबाट समेत दर्शनार्थीहरूको ओइरो लाग्थ्यो ।  २०४२/४३ सालतिर पोखरास्थित गण्डकी नुडल्सले सामान्य मन्दिर भएको स्थानमा एउटा अलि ठूलै मन्दिर बनाइदिएको थियो । उक्त मन्दिर जङ्गलमा भएको कारण र २०३२ साल तिर पुरानो रम्भा देवीको मूर्ति चोरी भएपछि रम्भा देवीको मूर्तिलाई बजारबाट बिहान डोकोमा बोकेर मन्दिरमा लैजाने र पूजा सम्पन्न भएपछि पुनः फिर्ता ल्याउने प्रचलन थियो । सायद यो प्रचलन वर्तमान अवस्थासम्म आइपुग्दा उस्तै छ अथवा छैन, त्यो भने मलाई स्पष्ट जानकारी छैन । किनकि यसबीच म ताहुँ पुग्न सकेको छैन । 

पहाडको काखमा थुपुक्क बसेको ताहुँ बजारको हावापानी मध्यम प्रकारको थियो । यहाँ न अत्यधिक धेरै गर्मी हुन्थ्यो न कठ्याङ्ग्रिने खालको जाडो ! रम्भा पानी जङ्गलबाट ल्याइएको पानीलाई बजारभन्दा माथि तिर एउटा टयाङ्की बनाएर सङ्कलन गरिएको थियो र गाउँमा वितरण गरिन्थ्यो । उक्त पानी तामाको गाग्रीमा राख्ने हो भने हल्का अमिलो स्वाद आउने गर्थ्यो । स्थानीय बासिन्दाहरू भन्ने गर्थे, पानीको मुहानमा तामाखानी भएको कारण पानीको स्वाद यस्तो भएको हो । कुरा सही थियो वा थिएन हामीले भने कहिलेपनि वास्तविकता बुझ्ने कोशिस गरेनौं । 

अन्य पहाडी गाउँमा पाइने भौतिक सुविधाको तुलनामा ताहुँ बजारमा केही थए सुविधाहरू थिए । नेपाल बैङ्क लिमिटेडको शाखा कार्यालय, साझा संस्था, कृषि विकास कार्यालयको प्राविधिक केन्द्र, हुलाक , हेल्थ पोष्ट, नेपाल रेडक्रस सोसाइटीको कार्यालय, गाउँ पञ्चायत कार्यालय र जिल्लाकै पुरानो मध्येको एक रम्भा माध्यमिक बिद्यालय ताहुँका गहना थिए । जसका कारण यहाँ वरपरका गाउँहरूबाट समेत मान्छेहरू प्रसस्त आउने गर्दथे, त्यसैले  बजारमा निकै चहलपहल हुने गरेको थियो । आसपासका गाउँहरूबाट कुखुरा, तरकारी र घरपाला मदिरा बेच्न आउने मान्छेहरूले  बजारबाट खुदी (कनिका), चामल , सख्खर तथा लत्ताकपडा एवं दैनिक उपभोगका वस्तुहरू खरिद गरेर फर्कने गर्थे । त्यसै कारण पसलहरूमा निकै घुँइचो देखिन्थ्यो र ताहुँको व्यापार व्यवसाय  निकै फस्टाएको देखिन्थ्यो ।

पाल्पाको रामपुर ,दर्छा, खालिवन, झिरुवास, लगायत सबै पूर्वी क्षेत्रहरूबाट सदरमुकाम आउजाउ गर्ने मान्छेहरूले यही बाटोको प्रयोग गर्ने भएकोले प्रायः ताहुँ बजारमा मान्छेको  बाक्लो उपस्थिती हुन्थ्यो । 

 हामी कहिलेकाहीं ताहुँ बजारको उत्तरमा रहेको ओम भञ्ज्याङ र देउराली र घुम्न जान्थ्यौँ । जहाँबाट उत्तर तिर सेतै टल्किएका हिमाल देख्न पाइन्थ्यो । कहिले हामी दक्षिणतिर ओरालो लागेर घुर्चिस फाँटसम्म पुग्नेगर्थ्यौं । प्रसस्त नभए पनि यो फाँटमा उब्जिएको अन्नले ताहुँ गाउँलाई निकै भरथेग हुने गरेको थियो । विदाको समयमा हामी केही साथी मिलेर  मोटरबाटो हुँदै  बिरकोट, हुमिन, सेर्कावास पुग्ने गरेका थियौं भने कहिले फुरुङ्दी फाँट र यदाकदा रिङ्नेरहको पूर्व खोलासम्म पनि जाने गरेका थियौँ । यसबाहेक हेक्कलाङ्ग, फोक्सिङकोट, अँगाहा खोला र देवीनगर पनि हाम्रो घुम्न जाने स्थानको सूचीमा सूचीकृत थिए । 

खेलकुदको क्षेत्रमा फुटबलको त्यति प्रचलन नभए पनि भलिवल खेलमा यहाँका युवाहरू निकै सक्रिय थिए । मलाई  सम्झना भए अनुसार वरपर कतै भलिवल प्रतियोगिताको आयोजना हुँदा ताहुँका युवाहरु अनिवार्य उपस्थिति जनाउँथे र पुरस्कृत समेत हुन्थे । भलिवल खेलको विकासमा पाल्पा जिल्ला निकै अगाडि देखिन्थ्यो । त्यसको बलियो प्रमाणका रुपमा हामी वरपर घुम्न जाँदा भलिबलका कोर्टहरू लगभग सबै गाउँमा देख्न पाइन्थ्यो ।

बसाहा चौतारामा बसेर सिरसिर हावाको झोकासँगै पत्रिका पढ्दाको आनन्द छुट्टै प्रकारको हुन्थ्यो । वाचनालयमा अनेकौं विधाका विविधथरी पुस्तकहरू राखिएका थिए । मैले एकैदिन दुवै पुस्तकालयबाट पुस्तकहरू लिएर जाने गरेको थिएँ । एक पटक लगेको पुस्तक एक हप्तासम्म  निर्वाधरुपमा राख्न पाइन्थ्यो । मलाई लाग्छ , त्यसबेला समय बिताउने मुख्य र सर्वोत्तम  विकल्प  यही थियो ।

त्यसबेला ताहुँमा  नवज्योति वाचनालय र रम्भा वाचनालय नामका दुई वटा वाचनालय समेत सञ्चालनमा थिए । ताहुँलाई शिक्षित र समुन्नत बनाउन यी वाचनालयको अहम भूमिका थियो । मान्छेहरूमा प्रसस्त अध्ययन गर्ने बानीको विकास भएको देखिन्थ्यो ।  स्थानीय युवाहरूको सक्रियतामा हरेक दिन वाचनालय खुला हुन्थ्यो ।  हुलाक मार्फत पत्र पत्रिका आउने भएकोले ताजा नभए पनि प्रकाशनको  कम्तिमा पनि एक हप्ता भित्रमा पत्रिका आइपुग्थे । बसाहा चौतारामा बसेर सिरसिर हावाको झोकासँगै पत्रिका पढ्दाको आनन्द छुट्टै प्रकारको हुन्थ्यो । वाचनालयमा अनेकौं विधाका विविधथरी पुस्तकहरू राखिएका थिए । मैले एकैदिन दुवै पुस्तकालयबाट पुस्तकहरू लिएर जाने गरेको थिएँ । एक पटक लगेको पुस्तक एक हप्तासम्म  निर्वाधरुपमा राख्न पाइन्थ्यो । मलाई लाग्छ , त्यसबेला समय बिताउने मुख्य र सर्वोत्तम  विकल्प  यही थियो । यहाँ रहँदाको यी आठ वर्ष मेरो लागि  निकै उर्वर बन्न पुग्यो । त्यसरी साँझ बिहान निर्वाधरुपमा पुस्तक पढ्न अन्यत्र सितिमिति पाइदैन थियो।

वाचनालयमा अन्य पत्रपत्रिका ढिलो आइपुग्ने भएपनि  विनयकुमार कसजुको सम्पादकत्वमा तानसेनबाट प्रकासित हुने सत्य साप्ताहिक भने भोलिपल्ट नै आइपुग्ने गरेको थियो । विशेष गरेर पाल्पा जिल्लाको स्थानीय खबरहरू छापिने गरेको सत्य साप्ताहिकमा केही पेजमा साहित्यिक सामाग्रीहरू समेत समावेश  गरिएको हुन्थ्यो । स्थानीय समाचार पढ्न पाइने भएकोले त्यसबेला “सत्य " साप्ताहिक पाल्पामा निकै लोकप्रिय थियो । 

 जसमा पाठककको भनाइ नामको एउटा स्तम्भ समेत सामेल गर्ने गरिएको थियो । मेरो पनि  यसै स्तम्भसँग जोडिएको एउटा घटना छ, जुन अचेल पनि सम्झना आइरहन्छ । 

 त्यसबेला अन्य गाउँमा जस्तै ताहुँ बजारका दुईचार जना पाका व्यक्तिहरू दिउँसोको समय व्यतित गर्ने उद्धेश्यले  तास खेल्ने गर्थे । सायद ताहुँका केही युवाहरूलाई बुढापाकाहरूको त्यो गतिविधि त्यति मन परेको थिएन । उनीहरूले ताहुँमा तास खेलेको विषयमा सत्य समाचार साप्ताहिकको पाठकको भनाइ स्तम्भमा  पत्र लेखेर  प्रकाशित गर्ने सल्लाह गरे । उनीहरूले लेख्ने पत्रका लागि मलाई खेस्रा गरिदिन अनुरोध गरे । मैले खेस्रा तयार गरिदिएँ । जब त्यो छापिएर आयो , गुनासो पठाउने तीनजनाको नाम मध्ये मेरो नाम पनि राखिएको रहेछ । बजारमा गाइँगुइँ हल्ला सुनियो , “दुई जनाले लेखे केही भएन , सरकारी जागिर खान आएको दाहालले हाम्रो विषयमा किन गुनासो लेख्नु पर्यो ? "

यस विषयमा भएको छलफल सुनेका शिक्षक एवं  साहित्यकार कृष्णभक्त देवकोटाले मलाई बोलाएर भन्नुभयो ”दाहालजी बुढाहरूले पाठकको गुनासोमा देखिएको तपाइँको सक्रियता त्यति मन पराएका छैनन् । तपाईंले आफूलाई  थाहा नभएको र उनीहरूले आफ्नो नाम  सहमति बिना राखिएको  हुनसक्छ भनिदिनु होला । अनि आफ्नो नाम सहमति बिना राखिएको भनेर खण्डन पनि पठाउनु होला । सरकारी कर्मचारी यसरी विवादमा पर्नु उचित  हुँदैन । " देवकोटा सरले भने जस्तो आखिरमा वास्तविकता पनि त्यही नै थियो ।”  मैले उनले भने अनुसार त्यसरी नै खण्डन पठाएँ । जब खण्डन प्रकाशित भयो प्रसङ्ग सामसुम भयो । त्यस घटनाबाट जीवनमा मैले एउटा गतिलो पाठ सिकेँ ।  जागिरको बत्तिस वर्षे अवधिभर म जहाँ पुगे पनि सम्बन्धित गाउँ र समाजको आन्तरिक मामिलामा कुनै प्रतिकृया दिन उचित लागेन  । स्थानीय गाउँलेले समाजलाई औंला उठाएको कुरा सामान्य मानिन्छ भने बाहिरबाट आएको शिक्षक, कर्मचारी र अन्य व्यक्तिले यसरी औंला उठाएको समाजलाई मन पर्दैन । उनीहरूले यस्तो अवस्थामा आफ्नो तेजोवध भएको ठान्ने गर्छन् । हाम्रो हरेक गाउँ र समाजको वास्तविकता यही हो । 

 ताहुँमा रम्भा मा वि का शिक्षकहरू कृष्णभक्त देवकोटा , नीलकण्ठ न्यौपाने र कालिदास श्रेष्ठ लगायत ताहुँकै   शिवकुमार श्रेष्ठसँग बेलावखत साहित्यिक भलाकुसारी गर्न पाइन्थ्यो । यता रम्भा माध्यमिक विद्यालयको वार्षिक कार्यक्रममा नाटक, प्रहसनको आयोजना हुने गरेको थियो  । जसलाई नीलकण्ठ न्यौपाने गुरुले नाटक निर्देशन गर्नु हुन्थ्यो । उहाँको नाटक निर्देशन गर्ने सिप चानचुने हुँदैन थियो । मैले कयौं पटक  काठमाडौँको राष्ट्रिय नाचघरमा मञ्चन भएका नाटकसँग निलकण्ठ गुरुले निर्देशन गरेका नाटकको तुलना गर्थें । निलकण्ठ गुरुका नाटक र प्रहसनहरू कुनै कोणबाट पनि कमजोर  हुँदैन थिए । मलाई लाग्थ्यो “ यी गुरु काठमाडौँमा भएको भए कति ठूलो नाटक निर्देशक हुने थिए होलान् !  यिनको दक्षता यही ताहुँमा मात्र  सिमित हुने भो ! "  तर यही कुरा मैले नीलकण्ठ गुरुसँग भने कहिले पनि भन्न सकिन । 

ताहुँ बसाइका क्रममा रम्भा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक गोपालकुमार श्रेष्ठ, शिक्षक ठाकुरप्रसाद के.सी, बसन्तकुमार श्रेष्ठ  र अर्जुन श्रेष्ठ,खुम राना, रामप्रसाद श्रेष्ठसँग विताएका हरेक क्षण सम्झनयोग्य थिए । उहाँहरूसँग मैले विभिन्न सरसल्लाहसमेत लिने गरेको थिएँ । करिब आठ वर्षको ताहुँ बसाइका क्रममा मैले अनेकौं पटक जन्ति र मलामीसमेत गएको थिएँ  । जीवनमा पहिलो पटक जागिर खाएर लामो अवधिसम्म  बिताएको कारण ताहुँ मेरो जागिरे प्राथमिक विद्यालय जस्तै लाग्छ । मैले ताहुँ छोडेको अहिले लगभग तीस बत्तीस वर्ष पुगिसकेको छ। मनमा अनगिन्ती रहर र इच्छा हुँदाहुँदै पनि ताहुँलगायत तानसेन पुग्न समय मिलेको छैन । विश्वास छ कुनै एकदिन यो इच्छा अवश्य पुरा हुनेछ ‌ ।

यति मात्र होइन, म ताहुँका केही हिउँद र वर्षायामसँग राम्रै गरी परिचित भएँ । ताहुँमा परेको असिना पानीसँग ठोकिएँ । हावाहुरीसँग साक्षात्कार गर्ने अवसर पाएँ । खडेरी पर्दा बारीमा हुर्किदै गरेका मकैका बोट र त्यहाँका स्थानीय बासिन्दासँग म पनि सँगै ओइलाउन पुगेँ । त्यहाँका लगभग सबै गल्लीहरूमा आफ्नो पैतालाका डोबहरू छोड्ने काम गरेँ ।  केही वर्ष गोरखाली खाजा खान छोडेर ताहुँको “अर्नी ”मा बानी पारेँ  । चामलको कनिकालाई सबैले जस्तै"खुदी" भन्न थालेँ । ग्रीष्ममासमा घर र होटलमा बनाइने स्वादिलो  "चुकाउनी" को स्वाद लिएको मात्र होइन, त्यो बनाउने सिप समेत सिकेर फर्केँ । जागिरको सिलसिलामा म जस्ता अनगिन्ती मान्छेहरू ताहुँ पुगे होलान् त्यसैले त्यहाँ पुगेका सबै मान्छेलाई ताहुँले चिन्नुपर्छ भन्ने छैन । मैले भने त्यही एउटा मात्र ताहुँलाई चिनेको छु ।  कहिले पनि नबिर्सने गरी सम्झिरहेको छु र सम्झिरहने छु । 

चितवन

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update