
तेल अबिब । इजरायल र हमासबीचको ६ दिने संघर्ष विश्राम अन्तर्गत हमासले १० इजरायली र चार थाई नागरिकसहित थप १४ जनालाई मुक्त गरेको छ। त्यसबापत इजरायलले पनि थप ३० प्यालेस्टिनी कैदी रिहा गरेको छ ।
यसअघि हमासले दुई रुसी-इजरायली महिला रिहा गरेको थियो। बुधबार इजरायल र हमासबीचको ६ दिने संघर्ष विश्रामको अन्तिम दिन थियो ।
संघर्ष विश्राम सकिँनै लाग्दा इजरायली सेनाले थप लम्बिने संकेत गरेको छ । बन्धकहरुलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरुको प्रयास स्वरुप युद्ध विश्राम लम्बिने इजरायली सेनाले जनाएको हो ।
यसैबीच, इजरायलले वेस्ट ब्यांकको जेनिन सहरमा गरेको कारबाहीमा ८ र १४ वर्षका दुई बालकको गोली लागि मृत्यु भएको थियो। इजरायली सेनाले ती दुई बालकको मृत्युबारे भने केही खुलाएको छैन । सो कारबाहीमा एक सिनियर इस्लामिक कमान्डरको मृत्यु भएको छ भने १७ अन्य लडाकु समातिएका छन्।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेन अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध प्रारम्भ भएयता तेस्रो पटक इजरायल पुगेका छन् । उनी इजरायल र हमासबीचको युद्ध संघर्ष लम्ब्याउने र मानवीय सहायता बढाउने प्रयासका लागि तेल अबिब पुगेको सञ्चारमाध्यमहरुले जनाएका छन्।