काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला न्यायाधीश चुरामन खड्काले ३ दिन थुनामा राख्न अनुमति दिनुभएको हो ।
हिजो कार्यकक्षबाट गिरफ्तार गरिएका सिरोहियालाई प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेस गरेको थियो । प्रहरीले सिरोहियालाई हिजो साँझ थापाथलीस्थित कान्तिपुरको कार्यकक्षबाटै गिरफ्तार गरेको थियो । उहाँलाई स्थलमार्गबाट आज बिहान पौने ६ बजे जिल्ला प्रहरी कार्यालय धनुषा पुर्याइएको हो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीमा सर्वसाधारणले बचत गरेको रकम अपचलन गरेको विषयमा कान्तिपुरले निरन्तर समाचार प्रकाशन प्रसारण गरेपछि प्रहरीले नागरिकतासम्बन्धी अनुसन्धानका लागि भन्दै गिरफ्तार गरेको हो ।