Mero Chitwan
नेपाली दाजुबहिनीको भारतमा  शङ्कास्पद मृत्यु , घटनापछि मृतकका बुबा  बेपत्ता

कञ्चनपुर :  बैतडीको पुर्च्यौडी नगरपालिका–४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु भएको छ ।

बुबा-आमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजुदरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम  र १५ वर्षीया छोरी शिरिष्माको कर्नाटकमा गत शनिबार शङ्कास्पद मृत्यु भएको नन्दका मावलीतर्फका काका जीवन धामीले जानकारी दिए । 

“दुवै दाजुबहिनीको हत्या गरी स्थानीय खोलामा डुबेर मृत्यु भएको अफवाह फैलाइएको कर्नाटकमा रहेकाले दाबी गरेका छन्”, धामीले भने, “दुवैको शरीर चोटपटक देखिन्छ ।” बुबाआमाको आग्रहमा शिरिष्मा एक महिनाअघि र विक्रम करिब छ महिनाअघि मात्रै भारत गएका थिए । मृतक दुवैको शव स्थानीय अस्पतालमा राखिएको उनको भनाइ छ । घटनापछि मृतकका बुबा नन्दसिंह बेपत्ता रहेको बताइएको छ ।

“सोमबार नै आफन्तको जिम्मा लगाएर शव दाहसंस्कार गर्ने योजना थियो”, धामीले भने, “तर अझै शव अस्पतालमै छ ।” मृतकका आफन्तले भने घटनाको छानबिनको माग गरिरहेका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update