काठमाडौं : विपक्षी दलहरूको अवरोधका बीच सत्ता पक्षले संसद्बाट राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पास गराएको छ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले नाराबाजीसहित वेल घेरिरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सदनमा निर्णयार्थ पेस गरेका हुन् ।
प्रतिपक्षी दलको नाराबाजी चलिरहे पनि सभामुख घिमिरेले धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएको सुनाएका हुन् ।
यसअघि जेठ १ गते नै प्रतिनिधिसभा बैठकमा राष्ट्रपति पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद दिने कार्यसूची रहेको थियो । तर कांग्रेसले बैठक अवरुद्ध गरेपछि उक्त दिन सदनले धन्यवाद दिन सकेको थिएन ।
सहकारीको बचत रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद्का दुवै सदनका बैठक अवरुद्ध गरेको थियो ।