काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदैछन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था छ ।
वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् । उक्त विश्वासकोे मतसम्बन्धी पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन पर्ने व्यवस्था छ ।
प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा नियमावली २०७९ को निमय १५५ बमोजिम आजको बैठकमा त्यससम्बन्धी प्रस्ताव पेश गर्ने सङ्घीय संसदको आजको सम्भावित दैनिक कार्यसूचीमा उल्लेख छ ।
यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्ने रणनीतिमा छ। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबनाएसम्म विश्वासको मत नै पेश हुन नदिने कांग्रेसको तयारी छ ।
हिजो संसद् बैठकमा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गरेलगत्तै पत्रकार सम्मेलन गरेका कांग्रेस महामन्त्री गगन थापाले आफूहरुको माग अनुसारकै संसदीय छानबिन समिति नबनाए संसद्का कुनै पनि काम-कारबाही अगाडि बढ्न नदिने बताएका थिए ।