Mero Chitwan
संसदीय छानबिन समिति गठन नभएसम्म अवरोध जारी रहन्छ : गगन थापा

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन अवरोध जारी राख्ने जानकारी दिएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकार सम्मेलनमा उनले सोमबार तय भएको बैठकअगाडि नै छानबिन समिति गठन गरिनुपर्ने बताए । “संसद् ठीक ढङ्गले चल्नका निम्ति हामी चाहन्छौँ,भोलि बिहान ११ बजे सदनको बैठक अगाडि हामीले संसदीय छानबिन समिति जुन उद्देश्यका लागि  माग गरिएको हो, त्यो उद्देश्यका लागि  समिति बनाउने गरी प्रधानमन्त्री, उपप्रधानमन्त्री  आउनुहुन्छ भन्ने विश्वास राख्छु”, उनले भने, “त्यसो हैन भने संसद्को कामकारबाही अघि बढ्दैन ।”

उनले सरकारमाथि शङ्का भएपछि छानबिन समितिको माग गरेको स्पष्ट पारे । उपप्रधान एवं गृहमन्त्री लामिछाने छानबिन समितिलाई प्रभावित पार्न खोजेको उनको भनाइ छ । “संसद्ले छानबिन समिति बनाउँदै गर्दा उपप्रधान एवं गृहमन्त्री लामिछानेले ‘अबरोध’ गर्नुभएको छ, रोक्नुभएको छ, प्रभावित गर्न खोज्नुभएको छ”, उनले भने, “आज पनि संसद्बाट उहाँले यो विषयवस्तुलाई आफैं गृहमन्त्री हुँदै गर्दा त्यसको ओझलाई बुझेर बहकाउने प्रयास गर्नुभएको छ । यसबाट के प्रमाणित हुन्छ भने उहाँ संसदीय छानबिन समितिबाट डराउनुभएको छ ।”

उनले पार्टी लक्षित भएर प्रतिशोध नराखेको समेत दाबी गरे । “यहाँ कसरी प्रस्तुत गर्न खोजिएको छ भने हामी त नयाँ पार्टी, नयाँलाई प्रश्न गर्ने रु हामी त आफ्नै पार्टीका नेतालाई प्रश्न गरेर आएको, आफ्नै नेतासँग लडेर आएको हो”, उनले भने, “यी तमाम विषयहरु हँुुदै  गर्दाखेरि यो विषय आज कुनै पनि अर्को व्यक्तिको हकमा भएको भए छानबिन र अनुसन्धान हुन्थ्यो । मैले अहिले जे आशङ्का गरेको छु छानबिनपछि यही आउन भन्ने पनि छैन ।  कांग्रेसको कुरा यो पनि हैन ।”

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी छ । 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update