Mero Chitwan
प्रधानमन्त्रीको अफर अस्वीकार गरेको भोलिपल्टदेखि सदन अवरुद्ध गर्न थालियो : रवि लामिछाने

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको र त्यसलाई अस्वीकार गरेको भोलिपल्टैदेखि सदन अवरुद्ध गरिएको आरोप लगाएका छन्। 

आज आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै लामिछानेले आफू अप्रमाणित हल्लाकै भरमा आफूमाथि मिडिया टायल गरिएको पनि बताए । उनले आफूले निवेदन दिएर सहकारीबाट ऋण लिएको प्रमाणित गरिए राजनीति नै छाड्ने चुनौती दिँदै संसदीय छानबिनका लागि कहिल्यै नडराएको उल्लेख गरे । उनले आफूमाथि सहकारी ठगीको आरोप लागेपछि न्यायको खोजीमा  महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेख्नुपरेको समेत बताए । महान्यायाधिवक्ताको कार्यालयले पनि आफूलाई निर्दोष नै देखेर आफूमाथि सो सम्बन्धी कुनै मुद्दामामिला नभएको जानकारी गराएको उनको भनाइ छ । 

संसदीय समिति गठनको कार्यादेश बनाउने विषयमा कांग्रेसले शनिबार सर्वदलीय बैठकमा गरेको सहमति नमानेको लामिछानेको भनाइ थियो ।

‘म स्पष्ट पार्न चाहन्छु हिजो पनि दलहरूको बैठक बसेर, दलहरूको छलफल भए एउटा सहमतिमा पुगिएको थियो । दलका प्रमुख नेता बसेर भएको सहमति थियो । तर प्रमुख प्रतिपक्ष हिजो भएको सहमतिबाट आज कता कता विमुख भएजस्तो मलाई लागेको छ,' उनले भने, 'हामीले कहिल्यै पनि संसदीय समिति बन्न हुँदैन, बनाउन हुँदैन भनेर भनेका पनि छैनौं । मात्र यति भनेका थियौं कि एक पटक आफूमाथि लागेको आरोपबारे बोल्न पाउँ । ती आरोप जो प्रहरीमा उजुरीमा छैन । अदालतमा पेश भएको छैन ।'
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update