काठमाडौं-सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनका अनुसार छानबिन समितिको कार्यादेश (टिओआर) आइतबार बिहान छलफलपछि टुङ्गो लगाइने छ । कार्यादेशको टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरिएको छ ।
'सदनमा भइरहेको गतिरोध अन्त्यका लागि छानबिन समिति बनाएर जानुपर्छ भन्नेमा सकारात्मक छलफल भयो । सँगसँगै समितिको कार्यादेश के हुने भन्ने विषयमा पनि काम गर्ने कुरा भएको छ । समिति गठन गरेर जाने भन्नेमा सबै राजनीतिक दलहरुबीच समान धारणा बनेको छ । आजका लागि यसलाई उपलब्धीमूलक र सकारात्मक नै मान्नुपर्छ', लेखकले भने ।
तर, छानबिन समिति गठनमा दुवै पक्षले मध्यमार्गी बाटो खोजेको बताइएको छ । कांग्रेस आफ्नो अडानबाट अलिक लचिलो हुँदै बचत अपचलनमा संलग्न सबै सहकारीको छानबिन गर्न समिति गठनमा सहमत भएको छ । यसअघि कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको अडान राख्दै आएको थियो ।
छानबिन समिति गठन गर्ने विषयमा शनिबार चरणवद्धरुपमा छलफल भएको थियो । सुरूमा प्रधानमन्त्री पुष्पकमल दाहालले सभामुख देवराज घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, कानुनमन्त्री पदम गिरीलगायतसँग छलफल गरेका थिए । सभामुखसँगको छलफलपछि प्रधानमन्त्री दाहालसहित सत्तारुढ दलका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखकलगायतसँग छलफल गरेका थिए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने मागसहित कांग्रेसले संसद्मा अवरोध गर्दै आएको थियो ।