काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रोपटक मन्त्रीमण्डल विस्तार गर्नुभएको छ ।
मुख्यमन्त्री कार्कीले शुक्रबार नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका एक दुई मन्त्री र एक राज्यमन्त्रीलाई समावेश गरेर मन्त्रीमण्डल विस्तार गर्नुभएको हो । योसँगै कोशीमा मुख्यमन्त्रीसहित १० सदस्यीय मन्त्रीमण्डल बनेको छ ।
कोशी प्रदेशका नवनियुक्त पाँच मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभयो । प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङ र नवनियुक्त राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री कार्कीले शपथग्रहण गराउनुभयो ।
मुख्यमन्त्री कार्कीले एमालेका लीलावल्लभ अधिकारी, एकराज कार्की र पाँचकर्ण राईलाई मन्त्री बनाउनुभयो भने एमालेकै सिर्जना राईलाई राज्यमन्त्री बनाउनुभयो । त्यस्तै नेकपा माओवादी केन्द्रका राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगर मन्त्री बन्दा वन्दना झाँगड राज्यमन्त्री बन्नुभयो ।
मन्त्रीमण्डल विस्तारपछि सञ्चारकर्मीसँग मुख्यमन्त्री कार्कीले अब प्रदेश सरकारले सुशासन र वार्षिक नीति-कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने आश्वासन दिनुभयो ।
गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले विस्तार गरेको मन्त्रीमण्डलअनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा लीलावल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की हुनुहुन्छ ।
त्यसैगरी खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा एकराज कार्की, सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैं र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर मन्त्री नियुक्त हुनुभएको छ ।
राज्यमन्त्रीमा नियुक्त सिर्जना राईलाई मुख्यमन्त्री कार्यालय र वन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो । यही मन्त्रीमण्डललाई लिएर अहिलेको सरकार आगामी निर्वाचनसम्म चल्ने मुख्यमन्त्री कार्कीको दाबी छ ।
संविधानको धारा १६८ (५) अनुसार अघिल्लो साताको बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले उपधारा ४ अनुसार वैशाख ३१ गते विश्वासको मत लिनुभएको थियो ।