काठमाडौं- सत्तापक्ष र विपक्षको दलीय हठका कारण संसद आज पनि अवरुद्ध भयो । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी कांग्रेसले विरोध जारी राखेको बेला सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाउन खोज्दा सदनमा घम्साघम्सी भएको हो ।
अवरोधका कारण प्रतिनिधिसभाको बैठक भोलि (शुक्रबार) ११ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बिहान ११ बजेका लागि बोलाइएको थियो । दलहरुबीच सदनको अवरोध खुलाउन पहल भए पनि छलफलबाट सहमति नजुटेका कारण बैठक ४ बजेका लागि सारिएको थियो । ४ बजे सारिएको बैठक पनि सूचना टाँस गरी ६ बजेका लागि बोलाइएको थियो । साँझ ६ बजे प्रतिनिधिसभाको बैठक सभामुख घिमिरेले सुरुवात भएको घोषणा गरेसँगै नेपाली कांग्रेसका सांसदहरुले सहकारी रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग राखेर अवरोध गरे ।
त्यहीबीच सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि बैठकमा कांग्रेस सांसदहरु झन् उग्र बनेर नाराबाजी गरे । त्यसपछि एमालेका सांसदहरुले पनि उठेर प्रतिकार गरेका थिए । एमाले र कांग्रेसका सांसदहरुबीच सदनमै केहीबेर धकेलाधकेलसमेत भएको थियो ।
त्यसपछि सभामुख घिमिरेले बैठक भोलि ४ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित गरेका थिए ।
आजै बसेको राष्ट्रिय सभा बैठक पनि कांग्रेसको अवरोधका कारण अवरुद्ध भएको थियो ।