चितवन–सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममार्फत् चितवनका क्रिकेट रंगशाला, नारायणीमा जलमार्ग र मेडिकल कलेजलाई समेटेको छ ।
चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । भरतपुर महानगरले गौतम बुद्ध रंगशालाको निर्माणका लागि टेण्डर आह्वान गरेर प्रक्रियासमेत अघि बढाइसकेको छ । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा थियो । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो ।
यस्तै, नीति तथा कार्यक्रममा उदयपुर, मोरङ, पर्सा, चितवनलगायत देशका अन्य स्थानमा मेडिकल कलेज स्थापना तथा सञ्चालनका लागि आवश्यक तयारी गरिने उल्लेख छ।
यसैगरी, सुनकोशी र नारायणी नदीमा टर्मिनलसहितको जलमार्ग निर्माण गरिने विषयलाई पनि प्राथमिकतामा राखिएको छ । यसबाहेक राष्ट्रिय वन तथा निकु्न्ज क्षेत्रमा वन्यजन्तुमैत्री सडक संरचना निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।